झापा । झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ५ सालडाँगीस्थित १८ गते राती लगभग ११ बजे गोप्य सूचनाका आधारमा लागुऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न व्यक्तिहरूमाथि गरिएको अपरेसनमा एक घरबाट दुई जना युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय शिवगंज र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले २९ वर्षीय राजेन्द्र कुमार ताजपुरियाको घरमा छापा मार्दा, ऐ.४ बस्ने २१ वर्षीय अजय ताजपुरिया समेत लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसिलो पदार्थ प्लास्टिकको पोका बनाई बेचबिखन गर्न तयारी अवस्थामा फेला पारेका हुन्।

प्रहरीले उनीहरूको कोठाबाट प्लास्टिकसहित १५ ग्राम २३ मिलिग्राम तथा प्लास्टिक बाहेक ८ ग्राम लागुऔषध बरामद गरेको छ। बरामद लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। यस घटनासँग सम्बन्धित अन्य व्यक्तिहरुको खोजी कार्य पनि जारी रहेको प्रहरी स्रोतले जनाएको छ।