भद्रपुर, ९ जेठ । जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका एक वृद्ध कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका पाँचथरको साविक नागी गा.वि.स.–९ घर भएका ६४ वर्षीय चन्द्र कुमार घिमिरेको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
कारागार प्रशासनका अनुसार गत जेठ ७ गते साँझ १७:०० बजे अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि घिमिरेलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँ थप उपचार सम्भव नभएपछि सोही राति २१:४५ बजे उनलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर रिफर गरिएको थियो ।
ओमसाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखी उपचार भइरहेकै अवस्थामा श्वासप्रश्वासको समस्या झन् जटिल बनेपछि उनलाई पुनः थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा आज (जेठ ९ गते) बिहान ०३:४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक घिमिरे जिल्ला अदालत झापाको फैसलाअनुसार १० वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए । उनले ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेका थिए । मृतकको शव हाल बीएण्डसी अस्पतालमै राखिएको र कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने तयारी भइरहेको कारागार स्रोतले जनाएको छ ।

















