झापा — फागुन २१ गते हुने संघीय निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट १७ जनाले मनोनयन दर्ता गराएका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृत कार्यालयमा विभिन्न ठूला तथा साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यस क्षेत्रबाट मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, नेपाली कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेकपा (एमाले)बाट हरि राजवंशी र नेपाली कम्युनिस्ट पार्टीबाट डिल्लीराम घिमिरे चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
अन्य दलतर्फ नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी लधु (महिला), जनमत पार्टीबाट हर्षलाल राजवंशी, जनता समाजवादी पार्टी (जसपा)बाट बिनिताकुमारी राजवंशी र जसपा नेपालबाट कर्णलाल राजवंशी उम्मेदवार बनेका छन् । मंगोल नेशनल अर्गनाइजेसनबाट यमकुमार श्रेष्ठ र श्रम संस्कृति पार्टीबाट दिपक तिम्सिनाले पनि मनोनयन दर्ता गराएका छन् ।
यसैगरी उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला साँवा, नेशनल रिपब्लिक नेपालबाट जयन मगर तथा नेकपा (माओवादी विप्लव)बाट सन्तोष कट्वाल उम्मेदवार छन् ।
स्वतन्त्रतर्फ मानबहादुर संग्रौला र अभय राजवंशीले उम्मेदवारी दिएका छन् ।निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्तापछि जाँच, दाबी–विरोध र उम्मेदवारी फिर्ता प्रक्रियापछि अन्तिम उम्मेदवारको सूची सार्वजनिक गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
चुनाव नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि क्रमशः तीव्र बन्दै गएको छ ।








