झापा । झापा गाउँपालिकाले चालु आर्थिक वर्षमा किसान लक्षित कार्यक्रम अन्तर्गत करिब ७५ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ। पालिका र प्रदेश सरकार र किसानहरुको ५० प्रतिशत अनुदान साझेदारीमा खरिद गरिएका सामग्री किसानलाई हस्तान्तरण गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार कृषकहरूको उत्पादन लागत घटाउने र कृषि पेशालाई प्रवर्द्धन गर्ने उद्देश्यले सिँचाइ तथा पशुपालनसँग सम्बन्धित सामग्री वितरण गरिएको हो। यसअन्तर्गत सिँचाइका लागि मोटर, पशुपालक किसानका लागि घाँस काट्ने चाप कटर तथा मोटर बोरिङ उपलब्ध गराइएको उनले जानकारी दिए।

के–के पाए किसानले?
कृषि शाखा प्रमुख समीक्षा उप्रेतीका अनुसार टेन्डर प्रक्रियामार्फत खरिद गरिएका सामग्रीहरूमध्ये २ हर्सपावर क्षमताका १६० थान किलस्कर मोटर, ३३ थान चाप कटर र ६२ थान मोटर बोरिङ किसानलाई वितरण गरिएको छ।
उनका अनुसार मोटर बोरिङ विशेषगरी वडा नम्बर ६ का सामूहिक खेतीमा आबद्ध किसानलाई लक्षित गरिएको हो। कम्तीमा चार जना किसानको समूह बनेका कृषि फर्मलाई प्राथमिकतामा राखेर सामग्री वितरण गरिएको उप्रेतीले बताइन्।

विद्युत् महसुलमा दिँदै आएको अनुदान प्रभावित

यता, अघिल्ला वर्षहरूमा किसानलाई दिइँदै आएको विद्युत् महसुलमा ८० प्रतिशत अनुदान भने यस वर्ष प्रभावित भएको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाका अनुसार नेपाल सरकारको पछिल्लो निर्देशनअनुसार वितरणमुखी कार्यक्रमलाई सीमित गर्नुपर्ने भएपछि लक्षित र विद्यार्थीहरूका कार्यक्रम प्रभावित भएका छन् । आवश्यक बजेट हुँदाहुँदै पनि संघीय सरकारको निर्देशन अनुसार उक्त कार्यक्रमहरू अगाडि बढाउन सकिएको छैन अब कसरी अगाडि बढ्ने हो हेर्न बाँकी छ उनले भन

“किसानको आवश्यकता र मागका आधारमा हरेक वर्ष कृषि सामग्री वितरण गर्दै आएका छौँ,” उनले भनिन्, “तर नयाँ नीतिगत व्यवस्थाका कारण विद्युत् अनुदानलाई निरन्तरता दिन सकिएन।”

उत्पादन वृद्धि र आम्दानीमा टेवा पुग्ने अपेक्षा
पालिकाले प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतलाई एकीकृत गर्दै कृषि क्षेत्रमा लगानी बढाएको जनाएको छ। यसले सिँचाइ पहुँच विस्तार हुनुका साथै पशुपालनमा सहजता आउने र उत्पादन लागत घट्ने अपेक्षा गरिएको छ।

सामग्री पाएपछि स्थानीय किसानहरूले खुशी व्यक्त गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमले कृषि पेशामा थप उत्साह थप्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार