(झापा), जेठ ७ । झापाको दुर्गम मानिने झापा गाउँपालिकाका बासिन्दाले अब कर सम्बन्धी सेवा लिन सदरमुकाम भद्रपुर धाइरहनुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । आन्तरिक राजस्व कार्यालय भद्रपुर र झापा गाउँपालिकाबीच भएको समझदारी (एमओयू) सँगै गाउँपालिका कार्यालयबाटै कर सम्बन्धी सेवाहरू औपचारिक रूपमा सुरु भएको हो ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले पहिलो सेवाग्राहीलाई व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) को प्रमाणपत्र हस्तान्तरण गर्दै उक्त सेवाको औपचारिक उद्घाटन गर्नुभयो । सेवा प्रवाहको पहिलो दिन बिहीबार नै गाउँपालिकाको राजस्व शाखाबाट स्थानीय एक व्यवसायीले सफलतापूर्वक बिजनेस प्यान लिएर सेवाको सुरुवात गरेका हुन् ।
नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णय बमोजिम साविकमा आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट मात्रै प्रवाह हुँदै आएका करदाता सम्बन्धी प्रमुख सेवाहरू अब स्थानीय तहबाटै दिन थालिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार अब स्थानीय नागरिक तथा व्यवसायीहरूले गाउँपालिका कार्यालयबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (पर्सनल प्यान) र व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) दर्ता तथा जारी गर्ने सेवा पाउनेछन् । यसका साथै करदाता दर्ता विवरण संशोधन गर्ने, आवश्यक कागजात तथा प्रमाण भिडान गरी कर सम्बन्धी अन्य सेवाहरू प्राप्त गर्ने र करचुक्ता प्रमाणपत्रसमेत गाउँपालिकाबाटै उपलब्ध गराइने राजस्व शाखाले जनाएको छ ।
कर सम्बन्धी सानातिना कामका लागि पनि दिनभरिको समय र अतिरिक्त खर्च खर्चेर भद्रपुर धाउनुपर्ने बाध्यता स्थानीय स्तरबाटै सेवा सुरु भएसँगै अन्त्य भएको छ । स्थानीय सरकारबाटै सहज, छिटो र प्रभावकारी रूपमा कर सम्बन्धी सेवा उपलब्ध हुन थालेपछि स्थानीय व्यवसायी र सर्वसाधारणले खुसी व्यक्त गरेका छन् । गाउँपालिकाले सम्पूर्ण सेवाग्राहीहरूलाई आवश्यक कागजातसहित गाउँपालिका कार्यालयबाटै कर सम्बन्धी सेवा लिन अनुरोधसमेत गरेको छ ।

















