हल्दीबारी (झापा) — हल्दीबारी गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कृषि कार्यक्रम अन्तर्गत स्थानीय किसानहरूलाई विभिन्न नौ जातका उन्नत धानको बिउ वितरण सुरु गरेको छ। गाउँपालिकाको वार्षिक बजेटबाट विनियोजित रकम र किसानहरूको लागत साझेदारीमा धानको बिउ वितरण गरिएको हो।

​गाउँपालिकाको ६ लाख रुपैयाँ बजेट र किसानहरूको ५० प्रतिशत साझेदारी कार्यक्रम अन्तर्गत १३७ जना कृषकहरूलाई कुल ४ हजार ५ सय ८५ किलो धानको बिउ वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख छविलाल गुरुङले जानकारी दिनुभयो। गाउँपालिकाको कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले संयुक्त रूपमा किसानहरूलाई बिउ हस्तान्तरण गर्नुभएको हो।

किसानको मागअनुसार गुणस्तरीय बिउ संकलन

​कृषि शाखाका अनुसार किसानहरूलाई वितरण गरिएको बिउ विभिन्न प्रतिष्ठित सहकारी तथा बिउ उत्पादक संस्थाहरूबाट खरिद गरिएको हो। जसअन्तर्गत अर्जुनधारा नगर विकास बहुउद्देश्यीय संस्था लिमिटेड, मेची कृषि बहुमुखी सहकारी संस्था लिमिटेड, कञ्चन बिउ उत्पादन उद्योग प्राली, नमुना एकीकृत सहकारी खेती बिउ उत्पादन कृषक समूह र कृषि बिउ उत्पादक समूह मार्फत उन्नत जातका बिउहरू खरिद गरिएका हुन्।

​यस पटक किसानहरूलाई बहुगुणी–२, स्वर्णशव–१, राधा–१२, साम्बा मन्सुरी सव–१, हर्दिनाथ–६, तरहरा धान–२, रामधान, शुद्धोधन काला नमक र लल्का बासमती गरी नौ जातका धानका बिउहरू उपलब्ध गराइएको छ। किसानहरूको माग र स्थानीय माटो अनुकूल उत्पादन राम्रो दिने प्रमाणित जातका बिउहरू मात्र छनोट गरेर वितरण गरिएको पालिकाले जनाएको छ।

कृषि प्रवद्र्धनलाई गाउँपालिकाको प्राथमिकता

​धान खेतीबाट स्थानीय किसानहरूले राम्रो आम्दानी लिन सकून् र खाद्यान्न उत्पादनमा पालिका आत्मनिर्भर बनोस् भन्ने उद्देश्यले उन्नत बिउ वितरण कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले बताउनुभयो। किसानको माग र आवश्यकतालाई हेरेर प्राविधिक रूपमा गुणस्तरयुक्त प्रमाणित बिउ मात्र खरिद गरी वितरण गरिएको उहाँको भनाइ छ।

​हल्दीबारी गाउँपालिकाले किसानहरूलाई कृषिमा प्रोत्साहन गर्न यसअघि पनि विभिन्न वडा कार्यालयहरू मार्फत ५० प्रतिशत लागत साझेदारीमा सिँचाइ मोटर, मकैको उन्नत बिउ तथा अन्य आवश्यक कृषि सामग्रीहरू वितरण गर्दै आएको छ। आगामी दिनमा पनि कृषिको आधुनिकीकरण र किसानका समस्या सम्बोधन हुने खालका कार्यक्रमहरूलाई निरन्तरता दिइने पालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार