खैरहनी (चितवन), ६ जेठ । चितवनको खैरहनी नगरपालिका वडा नं. २ को आयोजनामा स्थानीय जनजीवन माध्यमिक विद्यालयमा सात दिने सीपमा आधारित फोटोग्राफी तथा ड्रोन सीप विकास तालिम सुरु भएको छ। विद्यार्थीहरूलाई व्यावहारिक र प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले वडा कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो।

​तालिम कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले वर्तमान परिप्रेक्ष्यमा व्यावहारिक तथा सीपमूलक शिक्षाको आवश्यकता र महत्त्व बढ्दै गएको बताउनुभयो। वडा कार्यालयले विद्यालयस्तरमै विद्यार्थीहरूलाई लक्षित गरी यस्ता तालिम सञ्चालन गर्नु सकारात्मक कार्य भएको उल्लेख गर्दै नगर प्रमुख खनियाँले यसले विद्यार्थीहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने र भविष्यलाई सहज बनाउने धारणा व्यक्त गर्नुभयो।

​कार्यक्रमका अध्यक्ष एवं वडा नं. २ का वडा अध्यक्ष रोहिणीप्रसाद उप्रेतीले वडा कार्यालयले आर्थिक वर्ष २०८० सालदेखि नै विभिन्न क्षेत्रमा वार्षिक बजेटमार्फत सीप विकास कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो। कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावसँगै प्रविधिमैत्री तथा समयानुकूल कार्यक्रम सञ्चालन गरिएको बताउँदै उहाँले वर्तमान पुस्ताका विद्यार्थीहरू प्रविधिमा अभ्यस्त भएकाले यस्ता तालिमहरू उनीहरूका लागि बढी प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

​कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकासचन्द्र अर्यालले विद्यालयस्तरमै यस्ता सीपमूलक कार्यक्रमहरू अनिवार्य भइसकेको उल्लेख गर्नुभयो। विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त उद्घाटन समारोहमा वडा सदस्य, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

​राष्ट्रिय समाचार समिति (रासस) का सिनियर फोटोपत्रकार एवं राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजिन) नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले तालिमको मुख्य प्रशिक्षकका रूपमा फोटोग्राफी तथा मोबाइल फोटोग्राफी सम्बन्धी प्रशिक्षण दिइरहनुभएको छ। त्यसैगरी, ड्रोन प्रशिक्षकका रूपमा प्रवीण भट्टराईले सहजीकरण गरिरहनुभएको यस तालिममा कक्षा ११ र १२ का २० जना विद्यार्थीहरूको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार