हल्दीबारी (झापा) — हल्दीबारी गाउँपालिकाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत वडा नम्बर ४ र ५ मा पर्ने अधिकारीचोक बजारमा आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा बिना इजाजत र कानुनी कागजात अवैध रूपमा सञ्चालन हुँदै आएको एक औषधि पसललाई सिल गरिएको छ भने अन्य १७ वटा पसललाई कारबाहीको दायरामा ल्याइएको छ।

​गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको संयोजकत्वमा भएको उक्त अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा अध्यक्ष शन्तकुमार थापा ,जिल्ला प्रशासन कार्यालय, घरेलु कार्यालय, नापतोल विभाग, आन्तरिक राजस्व कार्यालय तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टोलीले बजारका कुल २० वटा पसलहरूको निरीक्षण गरेको प्रमुख प्रशासकीय अधिकृत वनले जानकारी दिनुभयो।

​अनुगमनका क्रममा अधिकारीचोक स्थित वडा नं. ५ मा मोहमद नसिम आलमले सञ्चालन गरेको औषधि पसलमा गम्भीर लापरबाही र अवैध गतिविधि भेटिएको छ। उक्त पसलमा म्याद सकिएका औषधिहरूका साथै नेपालमा प्रतिबन्धित भारतीय औषधिहरू समेत फेला परेको अनुगमन टोलीले जनाएको छ। औषधि पसल सञ्चालन तथा उपचार गर्ने कुनै पनि आधिकारिक शैक्षिक वा कानुनी प्रमाणपत्र नभएका आलम दाजुभाइले लामो समयदेखि औषधि पसलको आवरणमा अवैध कारोबार गर्दै आएका थिए। उनीहरूले ६२/६३ को आन्दोलनपछि राजनीतिक पहुँचका आधारमा नेपाली नागरिकता समेत लिएको खुलेको छ। आलम दाजुभाइले अधिकारीचोक र हल्दीबारी–३ स्थित ढटुवा बजारमा समेत औषधि पसल सञ्चालन गर्दै आएका थिए।

​जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको पाइएपछि टोलीले अधिकारीचोकको उक्त पसल तत्कालका लागि सिल गरेको छ। सञ्चालकलाई आगामी ११ गतेभित्र आवश्यक कागजपत्रसहित गाउँपालिकामा हाजिर हुन घटनास्थलमै निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बताउनुभयो।

अनुगमनका क्रममा टोली आउने सुइँको पाएपछि दुईवटा पसलहरू सञ्चालकले बन्द गरेर हिँडेका थिए। ती बन्द पसलहरूमा टोलीले उपस्थितिका लागि कार्यालयको आधिकारिक सूचना टाँस गरेको छ। यस्तै, कैफियत भेटिएका अन्य १७ वटा पसलहरूलाई यही ११ गतेभित्र आ-आफ्नो वडा कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन घटनास्थलमै पत्र बुझाइएको छ।

​अनुगमन टोलीले मुख्य गरी व्यवसायीहरूमा कानुनी सचेतना जगाउने उद्देश्य राखेको छ। सो क्रममा पसलहरूको दर्ता प्रमाणपत्र, व्यवसाय नवीकरण, सामानहरूको मूल्य सूची, उपभोग्य मिति र गुणस्तरको विस्तृत चेकजाँच गरिएको थियो। टोलीले व्यवसायीहरूलाई उपभोक्ताको अधिकारको सम्मान गर्दै सुरक्षित र मर्यादित व्यवसाय गर्न अनुरोध समेत गरेको छ।

​गाउँपालिकाले हल्दीबारी क्षेत्रका अन्य बजारहरूमा पनि क्रमशः अनुगमनलाई निरन्तरता दिने जनाएको छ। पालिकाको निर्देशन र कानुनी प्रक्रिया पालना नगर्ने, उपभोक्ता ठग्ने वा अवैध कार्य गर्ने पसलहरूलाई जरिबाना गर्ने र पसल नै सिल गर्नेसम्मको कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। उक्त बजार अनुगमन टोलीमा ,जनप्रतिनिधि ,गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, स्थानीय सरोकारवाला तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार