बिर्तामोड, फागुन १ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपअन्तर्गत आज पहिलो सेमिफाइनलमा आयोजक झापा ११ फुटबल क्लब र विभागीय टोली एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ।जारी राष्ट्रिय लिगमा तेस्रो स्थानमा रहेको ए डिभिजन क्लब एपिएफविरुद्ध घरेलु टोली झापा ११ फाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रँदैछ। आजको खेल जित्ने टोलीले कम्तीमा ७ लाख ५० हजार रुपैयाँ सुनिश्चित गर्नेछ।एपिएफ अनुभवी प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षणमा तथा कप्तान हरि कार्कीको नेतृत्वमा मैदानमा उत्रनेछ। टोलीमा प्रदीप लामा, युवराज खड्का, बुद्धिमान राई र मणिकुमार लामा छन्। कप्तान कार्की जारी प्रतियोगितामा ह्याट्रिक गर्ने एक्ला खेलाडी हुन्।घरेलु समर्थकको साथ पाउने झापा ११ उच्च मनोबलका साथ खेल्दैछ। अधिकांश खेलाडी झापाकै भएकाले टोलीलाई स्थानीय समर्थन बलियो रहने अपेक्षा गरिएको छ। प्रशान्त लक्समको कप्तानीमा रहेको झापामा राष्ट्रिय टोलीका सदस्य रोहण कार्की, समिर तामाङ, एरोन थापा, रोमन भुजेल, राजेश दाहाल र दुई विदेशी खेलाडी छन्।झापाले प्रिक्वार्टर फाइनलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको थियो भने क्वार्टरफाइनलमा भारत, सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।एपिएफले भने क्वार्टरफाइनलबाट यात्रा सुरु गर्दै भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोलअन्तरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ तथा उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।


















