भद्रपुर (झापा), माघ २० ः फागुन नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी चहलपहल बिस्तारै बढ्दै गएको छ । सडकछेउका चिया पसलदेखि खेत–खलियान र टोल–टोलसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनको चर्चा चर्किंदै गएको छ । यही माहोलबीच यस क्षेत्रबाट १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार झापा निर्वाचन क्षेत्र नम्बर ३ मा एक लाख ४० हजार ८५७ मतदाता रहेका छन्। यस क्षेत्रमा ६७ मतदान स्थल र १६४ मतदान केन्द्र तोकिएका छन् ।
झापा–३ अन्तर्गत भद्रपुर नगरपालिका वडा नं. १ देखि ८, बिर्तामोड नगरपालिका वडा नं. १०, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिका पर्दछन् ।
१७ उम्मेदवार चुनावी मैदानमा
यसपटक झापा क्षेत्र नम्बर ३ मा १७ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली काँग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेकपा (एमाले) बाट हरीबहादुर राजवंशी, नेपाली कम्युनिष्ट पार्टीबाट डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद लिङ्देन, जनता समाजवादी पार्टी, नेपालबाट कर्णलाल राजवंशी, जनमत पार्टीबाट हरसलाल राजवंशी तथा नेकपा (माओवादी केन्द्र) बाट सन्तोष कटुवाल उम्मेदवार छन् ।
त्यसैगरी उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीबाट विनिता कुमारी राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला सावा, नेशनल रिपब्लिक पार्टीबाट जयेन मगर, श्रम संस्कृति पार्टीबाट दिपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी दुवाल (लघु), मंगोल नेशनल अर्गनाइजेसनबाट यामकुमार श्रेष्ठ तथा अभय राजवंशी र मानप्रकाश संग्रौला स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् ।
फागुन ४ देखि औपचारिक प्रचारप्रसार
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ देखि फागुन १८ गतेसम्म औपचारिक प्रचारप्रसारको समय निर्धारण गरिसकेको छ । आयोगका अनुसार उक्त अवधिमा मात्रै सभा, जुलुस, घरदैलो, पोस्टर–पम्पलेट लगायतका गतिविधि गर्न पाइनेछ । हाल उम्मेदवारलाई मतदाता तथा कार्यकर्तासँग भेटघाट गर्न अनुमति दिइएको भए पनि आचारसंहिताले के गर्न पाइने र के नपाइने स्पष्ट रूपमा तोकेको छ ।

उम्मेदवारका दाबी
यसपटक सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन आफ्नो पक्षमा आउने दाबी गर्दै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेले पार्टीको ऐतिहासिक भूमिका र वर्तमान योगदान नै आफ्नो जितको आधार भएको बताउनुभयो । राणा शासनदेखि लोकतन्त्र हुँदै गणतन्त्रसम्म नागरिक अधिकार सुनिश्चित गर्न काँग्रेसले निर्वाह गरेको भूमिकाले मतदाताको विश्वास जित्ने उहाँको भनाइ छ ।
नेकपा (एमाले) का उम्मेदवार हरीबहादुर राजवंशीले झापा–३ अन्य क्षेत्रको तुलनामा विकासमा पछाडि परेको उल्लेख गर्दै अब एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार झापाका अन्य क्षेत्रमा एमाले नेतृत्वमा विकास भए पनि यस क्षेत्रमा अपेक्षाअनुसार प्रगति हुन सकेको छैन ।
स्वतन्त्र उम्मेदवार मानप्रकाश संग्रौलाले संसदमा वास्तविक किसानको प्रतिनिधित्व नभएकाले आफू किसानको आवाज बनेर संसद जाने दाबी गर्नुभयो । झापा कृषि उत्पादनका लागि उर्वर भूमि भएकाले किसानका समस्या उठाएकै आधारमा आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डिल्लीराम घिमिरेले सुशासन र स्थिरताका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उत्पीडित वर्ग, जाति र लिङ्गका नागरिकको बाहुल्य रहेको क्षेत्र भएकाले यही पक्ष आफ्नो जितको आधार भएको उहाँको दाबी छ ।
अघिल्लो निर्वाचनको अवस्था
गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले ४० हजार ६६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । त्यतिबेला राप्रपाले नेकपा (एमाले) सँग तालमेल गरेको थियो । लिङ्देनले नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभएको थियो ।
काँग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ३ हजार ४६१ मत प्राप्त गरेका थिए ।
यसपटक सबै दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । यस निर्वाचनले प्रत्येक दलको वास्तविक जनाधार कति छ भन्ने कुरा स्पष्ट पार्ने भद्रपुरका स्थानीय बासिन्दा ईश्वर भट्टराई बताउनुहुन्छ ।
समानुपातिक मत परिणाम र स्थानीय तहको अवस्था
२०७९ को समानुपातिक निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेस पहिलो दल बनेको थियो । आयोगको तथ्याङ्कअनुसार काँग्रेसले २५ हजार ५३५, राप्रपाले १९ हजार ७४३, नेकपा (एमाले) ले १९ हजार ४६०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८१२ र नेकपा (माओवादी केन्द्र) ले ७ हजार ५९५ मत प्राप्त गरेका थिए ।
गत २०७९ को स्थानीय तह निर्वाचनमा यस निर्वाचन क्षेत्रमा रहेका २८ वडामध्ये नेपाली काँग्रेसले १६ वडा, नेकपा (एमाले) ले ४ वडा, नेकपा (माओवादी केन्द्र) ले २ वडा, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ वडा जितेका थिए भने बाह्रदशी गाउँपालिका वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
वडा अध्यक्षले प्राप्त गरेको मतका आधारमा नेपाली काँग्रेसले २५ हजार ९४९, नेकपा (एमाले) ले २१ हजार ०८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले २२ हजार ०८४ र नेकपा (माओवादी केन्द्र) ले ६ हजार ६८८ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएको थिएन ।
विगत
यस निर्वाचन क्षेत्रबाट २०७४ र २०७९ दुवै प्रतिनिधि सभा निर्वाचनमा एमालेसँगको गठबन्धनका कारण राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी विजयी भएको थियो । २०४८ देखि २०५५ सम्म एमालेको पकड रहेको यो क्षेत्रमा २०५६ सालमा भने नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका थिए।राष्ट्रिय प्रजातन्त्र पार्टीले हल्दीबारी गाउँपालिकामा २, भद्रपुर नगरपालिकामा २ र बाह्रदशीमा एक गरी जम्मा ५ वटा वडामा विजयी भएको थियो । बाह्रदशी गाउँपालिकाको वडा नं. ४ मा भने स्वतन्त्र उम्मेदबार विजयी भएका थिए ।
यसरी यो क्षेत्रका वडा अध्यक्षले प्राप्त गरेको मत अनुसार नेपाली काँग्रेसको २५ हजार ९४९, नेकपा (एमाले) को २१ हजार ०८५, नेकपा (माओवादी केन्द्र) को छ हजार ६८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २२ हजार ०८४ मत प्राप्त गरेको थियो । गत स्थानीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी भने सहभागी थिएन् ।
यस निर्वाचन क्षेत्रबाट २०७४ र २०७९ दुवै निर्वाचनमा एमालेसँगको गठबन्धनका कारण राप्रपाका लिङ्देन विजयी हुनुभएको थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस, २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी विजयी भएको थियो । २०४८ देखि २०५५ सम्म एमालेको पकड रहेको यो क्षेत्रमा २०५६ सालमा भने काँग्रेसका कृष्णप्रसाद सिटौला विजयी हुनुभएको थियो ।

– दिपक चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार