समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

टाइब्रेकरमा पोखरालाई हराउँदै आर्मी सेमिफाइनलमा

बिर्तामोड, माघ २७ । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आर्मीले लालिगुराँस एसोसिएसन पोखरालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
खेल अवधिभर पोखराको दबाबमा परेको आर्मीले निर्धारित समयमा गोल गर्न नसकेपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो। टाइब्रेकरमा आर्मीका नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे। पोखराका टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गर्न सके। पोखराका लक्षु थापाको प्रहार बाहिरियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाए।
पहिलो हाफमा पोखराले आर्मीमाथि दबाब कायम राखेको थियो। ३०औँ मिनेटमा पोखराका मुकुन्दकुमार न्युरोले गोलकिपरसँग वान–भर्सेस–वानको अवसर खेर फाले। दोस्रो हाफमा भने आर्मीले खेलमा सुधार गर्दै आक्रामक प्रदर्शन गर्‍यो।
७९औँ मिनेटमा जर्जप्रिन्स कार्कीको शक्तिशाली प्रहार पोखराका गोलकिपर अनिस महतोले पञ्च गरेर बचाए। इन्ज्युरी समयमा आर्मीले निरन्तर आक्रमण गर्‍यो। जिलेस्पीजंग कार्कीको प्रहार र जर्जप्रिन्सको हेडर गोलमा परिणत हुन सकेन।
खेलको प्लेयर अफ द म्याच आर्मीका गोलकिपर विकेश कुथु घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए। बुधबार सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा दैनिक टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडका देबी कार्कीले ३२ इञ्चको हिमस्टार एलईडी टेलिभिजन प्राप्त गरे। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल प्राप्त गर्नेछन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)