झापा, हल्दिबारी — सामाजिक उत्तरदायित्व, नागरिक चेतना र श्रम मार्फत संस्कृतिको सशक्त उदाहरण प्रस्तुत गर्दै ढडुवा युवा क्लब परिवारको अगुवाइमा हुलाकी राजमार्ग क्षेत्रअधिकारभित्र रहेका अव्यवस्थित झाडी, बोटबिरुवा तथा झारपात हटाउने वृहत् सरसफाइ अभियान आज उत्साहजनक रूपमा सम्पन्न गरिएको छ।।

“आफ्नो गाउँ, आफ्नै जिम्मेवारी” भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, श्रमदाता, सामाजिक अभियान्ता, बुद्धिजीवी, युवा तथा समाजका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम ढडुवा युवा क्लबको आयोजना तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सम्पन्न भएको हो।


अभियानअन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं.–३ स्थित काजली पुलदेखि ढडुवा बजारसम्म सडक क्षेत्रअधिकारभित्र अनियन्त्रित रूपमा उम्रिएका झाडी तथा अव्यवस्थित बोटबिरुवाहरू काटेर सरसफाइ गरिएको छ। अभियानलाई श्रम संस्कृति पार्टी हल्दीबारी गाउँपालिकाले ठूलो साथ प्रदान गर्दै श्रमदान प्रदान गरेको थियो।
। लामो समयदेखि सडक छेउमा फैलिएका झारपात र बोटबिरुवाले सडकको सौन्दर्य मात्र होइन, यात्रु आवतजावतमा समेत समस्या उत्पन्न गरिरहेको अवस्थामा गरिएको यस अभियानलाई स्थानीयले प्रशंसनीय कार्यका रूपमा लिएका छन्।


कार्यक्रममा हल्दिबारी वडा नं.–३ का जनप्रतिनिधिहरू, श्रम संस्कृती पार्टी हल्दिबारीका पदाधिकारी तथा सदस्यहरू, विभिन्न सामाजिक अभियान्ता, श्रमदाता तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले श्रमदानमार्फत समाज परिवर्तन सम्भव रहेको सन्देश दिएका छन्।
पछिल्लो समय ढडुवा युवा क्लब सामाजिक, मानवीय, खेलकुद, सांस्कृतिक तथा धार्मिक गतिविधिहरूमा निरन्तर सक्रिय रहँदै आएको छ। क्लबले समाजमा सकारात्मक ऊर्जा र युवामा सामाजिक नेतृत्व विकास गर्ने उद्देश्यसहित विभिन्न रचनात्मक अभियान सञ्चालन गर्दै आएको स्थानीयवासी बताउँछन्।
क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेले अब प्रत्येक शनिबारलाई “सामाजिक श्रम अभियान” का रूपमा निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले हल्दिबारी वडा नं.–३ भित्रका सडक क्षेत्र अतिक्रमण गरी रोपिएका बोटबिरुवा, झाडी तथा अव्यवस्थित संरचनाहरू हटाउँदै स्वच्छ, सुरक्षित र व्यवस्थित सडक निर्माण अभियानलाई निरन्तरता दिइने बताउनुभयो।
उहाँले श्रमदाता तथा अभियानकर्ताहरू आउनुभन्दा अगाडि नै नागरिक स्वयं सचेत भई सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै सडक क्षेत्रभित्र रोपिएका बोटबिरुवा हटाएर सभ्य र जिम्मेवार नागरिकको परिचय दिन सम्पूर्ण स्थानीयवासीलाई आग्रह समेत गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार