दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई जेल सजाय सुनाएको छ। ७९ वर्षका उनलाई अदालतको अपहेलना गरेको मुद्दामा १५ महिनाको जेल सजाय सुनाएको न्यूयोर्क टाइम्सले जनाएको छ।
सन् २००९ देखि २०१८ सम्मको कार्यकालमा रहँदा भएको वित्तीय घोटालामा उनलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो। तर आदेशको उपेक्षा गर्दै अदालतमा उपस्थित हुन नमानेपछि अदालतको अपहेलना मुद्दा लागेको थियो।
सोही मुद्दामा अदालतले पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल सजाय सुनाएको हो। जुमा नेल्सन मन्डेलाका मित्र थिए भने अफ्रिकन नेशनल कंग्रेस पार्टीका नेता थिए। उनलाई जेल सजाय सुनाउँदासमेत जुमा मंगलबार अदालतमा उपस्थित भएका थिएनन्। र उनलाई तत्काल नियन्त्रणमा लिइएको थिएन।
उनलाई भ्रष्टाचार भएको मुद्दामा अदालतका उप(प्रधानन्यायाधीश रेमोन्ड जोन्डोले पाँच महिनाअघि अदालतमा उपस्थित हुन आदेश दिएका थिए। तर जुमाले सो आदेश मानेनन्, बरू बेवास्ता गर्दै बसे।
जुमामाथि ठगी, भ्रष्टाचारलगायतका १६ वटा छुट्टाछुटै मुद्दा लागेको छ। सन् १९९९ मा फाइटर जेट, पेट्रोल डुंगा, मिलिटरी गियर लगायतको खरिदमा भ्रष्टाचार गरेको मुद्दा छ।एजेन्सी

















