समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सुरु

धनगढी — सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सुरु भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबि) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कैलालीसँग सहकार्यमा तीनदिने तालिम आयोजना गरिएको हो।

पर्यटन प्रवर्द्धन, दृश्य अभिलेखन, ब्रान्ड प्रमोशन तथा स्थानीय समुदायको पर्यटन सहभागिता बढाउने उद्देश्यले सञ्चालन भएको तालिममा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट करिब ३५ जना पत्रकार सहभागी छन्।

विज्ञापन (Advertisement)Advertisement

उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले तालिम प्रदेशको पर्यटन अभियानलाई सुदृढ बनाउने माइलस्टोन सावित हुने बताए। उनले भने, “सुदूरपश्चिम धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण केन्द्र हो। यहाँका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने यो तालिम दीगो पर्यटनमा योगदान पुर्‍याउने छ।”

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारको क्षमता विकास र गुणस्तरीय सामग्री उत्पादनका लागि यस्ता तालिम आवश्यक रहेको बताए। उनले भने, “मिडियाको स्तर सुधार्ने सबैभन्दा प्रभावकारी माध्यम सिपमा आधारित तालिम हो।”

राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता पर्यटन प्रवर्द्धनको आधारभूत साधन भएको उल्लेख गर्दै भने, “एक उत्कृष्ट तस्बिरले हजार शब्द बोल्छ। नेपाललाई लेन्समार्फत विश्वमा चिनाउन सकियो भने पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सकिन्छ।”

तालिमका सहभागीले फील्ड अभ्यासका क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु, घाँसेमैदान, प्राकृतिक आकर्षण र पर्यटन सम्भावनाहरूको अवलोकन गर्दै ‘उच्चस्तरको फोटो–डोकुमेन्टेसन’ तयार गर्नेछन्।

पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र सञ्चार रणनीतिबारे प्रशिक्षण दिए। उनले भने, “मिडिया गन्तव्य र आगन्तुकबीचको पुलको काम गर्ने भएकाले पत्रकारहरूले दीगो र उत्तरदायी पर्यटन प्रवर्द्धनमा आफ्नो लेखन केन्द्रित गर्नुपर्दछ। प्रभावकारी तस्बिरहरूले गन्तव्यको कथा विश्वभर पुर्‍याउँछन्, त्यसैले ब्रान्डिङमा ध्यान दिन जरुरी छ।”

फोटो पत्रकार तथा प्रशिक्षक सुनिल चुडा बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सेना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको विकासक्रम, फ्रेम निर्माण, तस्बिर कथा निर्माण, प्रकाश–छायाँ व्यवस्थापन लगायत विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिनेछन्। तालिमको सहजीकरण एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका छन्।

पहिलो संस्करण कोशी प्रदेशको विराटनगरमा सञ्चालन भएको थियो भने तेस्रो संस्करण गण्डकी प्रदेशको पोखरामा आयोजना गरिनेछ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)