धादिङ । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडामा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा उक्त दुर्घटना भएको हो। सोमबार बिहान करिब १:३० बजे भएको यस दुर्घटनामा १७ जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य २४ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टका अनुसार दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वमा टोली परिचालन गरिएको थियो। साथै, कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गोताखोरसहितको विशेष उद्धार टोली पनि घटनास्थलमा खटिएको छ। मृतकहरूको शव अहिले घटनास्थलमै रहेको र उनीहरूको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको छ। नदीमा खसेको बसमा अझै यात्रुहरू हुन सक्ने आशङ्कामा गोताखोरले खोजी कार्य जारी राखेका छन्। दुर्घटनाको वास्तविक कारण र थप विवरण आउन बाँकी रहेको छ भने सुरक्षाकर्मी र स्थानीयहरू निरन्तर उद्धारमा जुटेका छन्।


















