नेत्र बिक्रम बिमली

२००२ साल मंसिर २९ गते ताप्लेजुङको साँगादिन गाउँमा जन्मिएका नकुल काजी, आज केवल एउटा नाम मात्र होइनन्, उनी झापाली पत्रकारिता र नेपाली साहित्यका जीवित इतिहास हुन्। पत्रकारिता, सम्पादन, साहित्य अनि अध्यात्मसम्मको यात्राले काजीलाई बहुआयामिक व्यक्तित्व बनाएको छ।

बाल्यकालदेखि दार्जिलिङसम्मको यात्रा :

बाल्यकाल गाउँमै विते पनि, अध्ययनप्रति असाधारण लगावका कारण काजी दार्जिलिङ पुगे। सेन्ट रोबर्ट्स स्कुल र त्यसपछि सेन्ट जोसेफ्स कलेजमा जीवविज्ञान अध्ययन गर्दा पनि उनको ध्यान विज्ञानमा मात्र सीमित भएन। उनी पत्रिका, लेख, सम्पादन र साहित्यतर्फ आकर्षित भए।

दार्जिलिङमा बस्दाबस्दै ‘पुष्प–पल्लव’ पाक्षिक र ‘आवाज’ पाक्षिकमा काम गर्दै उनले पत्रकारिताको पहिलो पाठ सिके। कलकत्ताको अंग्रेजी दैनिक अमृता बजार मा अनुभवले उनलाई विश्व दृष्टिकोण दियो।

झापा फर्केर पत्रकारिताको माला गास्दै :

२०२४ सालतिर काजी झापा फर्किए। यहाँ उनले पञ्चायत मासिक बाट पत्रकारिता सुरु गरे। तत्कालीन ऋषिकेश उपाध्यायदेखि डिल्लीराम निर्भिकसम्मका पत्रकारहरूसँग अनुभव बाँड्दै उनी झापाली पत्रकारिताको पहिलो पंक्तिमा उभिए।

उनी मात्र सम्पादक थिएनन्, प्रशिक्षक पनि बने। भाषाशुद्धता, तथ्य र अनुशासनमा कडाइ उनका विशेषता थिए। ‘विवेचना दैनिक’ मा उनले तयार पारेका पत्रकारहरू पछि राष्ट्रिय सञ्चारमाध्यमका स्तम्भ बने।

पत्रिकाहरू जसले अनुशासन सिकाए :

उनको सम्पादनमा प्रकाशित विवेचना मासिक, जनध्वनी, शनिवार, बरुण, झापा एक्सप्रेस, विवेचना दैनिक, Eastern Echo (अंग्रेजीमा) लगायतका पत्रिकाले पूर्वाञ्चलमा पत्रकारिताको अनुशासन र व्यावसायिकता स्थापित गरे। विशेषगरी विवेचना दैनिक झापाली पत्रकारिताको पाठशाला सरह बन्यो।

साहित्यमा कलम :

पत्रकारितासँगै उनले कविता, कथा, उपन्यास र व्यङ्ग्य साहित्यमा निरन्तर लेखे। कविता यौवन–तृष्णा र मेरो देशको कविता ले उनको देशप्रेम र युवाशक्ति उजागर गर्छ।उपन्यास सागर, समस्या, शान्ति, गौरी हुँदै पछिल्लो घरहरु भत्किरहेछन् सम्म उनले समाजको यथार्थलाई चित्रित गरे। ‘बज्रपात’ स्तम्भ र गौँथलीका बाऊ व्यङ्ग्यले सामाजिक विसंगतिमा प्रहार गरे।साहित्य र पत्रकारिता दुबैमा भाषा र व्याकरणप्रतिको सजगता उनले कहिल्यै छुटाएनन्।

पुरस्कार र सम्मान :

उनको योगदानलाई समय–समयमा उच्च सम्मान प्राप्त भयो।
मोतिराम पत्रकारिता पुरस्कार (२०५३), श्यामकृष्ण पत्रकारिता पुरस्कार (२०५२), शिशु पत्रकारिता पुरस्कार (२०६०) देखि लिएर भानुभक्त स्मृति स्वर्ण पदक (२०६५) सम्मका पुरस्कारले उनको योगदानलाई मान्यता दिएको छ।

अध्यात्मतर्फको झुकाव :

जीवनको उत्तरार्धमा उनले अध्यात्म र दर्शनतर्फ कलम मोडे। पहिले आफूलाई चिन (मोहन प्रियचार्य), परमहंस गुरुजी मंगलदास–व्यक्तित्व र कृतित्व, गणतन्त्र र गौथलीको बाउ जस्ता कृतिहरूले उनको वैचारिक यात्रा देखाउँछन्।

जीवित धरोहर :

आज पनि नकुल काजी लेखन, परामर्श र प्रशिक्षणमा सक्रिय छन्। उनले सिकाएका पत्रकारहरू नेपालका विभिन्न सञ्चार गृहका नेतृत्वमा कार्यरत छन्।

उनको जीवनले प्रमाणित गर्छ  :
पत्रकारिता केवल सूचना दिनको माध्यम होइन, यो समाजलाई सचेत पार्ने, भाषा र साहित्य जोगाउने र नयाँ पुस्तालाई मार्गदर्शन गर्ने संस्था हो।

 (झापाली पत्रकारिता र नेपाली साहित्यका जीवित धरोहर आदरणीय मेरा पत्रकारिता क्षेत्रका पहिलो गुरु नकुलकाजीको विषयमा विभिन्न पत्रपत्रिका एवं अनलाइनमा प्राप्त विवरण अनुसार केही लेख्ने कोसिस मात्र गरेको छु। पत्रकारिताका किताब आदरणीय गुरु को विषयमा जति लेखे पनि अपुरै हुनसक्छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
3

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार