कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शनिबार नियुक्त भएका तीन जना मन्त्रीहरु नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीले आइतबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्।
शुक्रबार विश्वासको मत लिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई विश्वासको मत दिलाउन ‘फ्लोर क्रस’ गरेका चारजना सांसदमध्ये तीनजनालाई मन्त्री बनाएका हुन् । बुढालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा यथावत् राखिएको छ । उनलाई शनिवार कृषि मन्त्रालयम नियुक्त गरिएको भनिए पनि आइतबार दिउँसो प्रदेश प्रमुखलाई सपथग्रहणको लागि पत्र पठाउँदा पुरानै मन्त्रालयमा नियुक्त गरिएको जानकारी गराइएको थियो ।
सर्वोच्चको फैसलापछि पूर्ववत अवस्थामा फर्किएको एमालेको कर्णाली प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुढाले सोही मन्त्रालयबाट चैत २४ गते राजीनामा दिएका थिए। यस्तै अमर बहादुर थापालाई भौतिक पूर्वाधार मन्त्रालयमा नियुक्त गरिएको छ। सरकार गठनको सुरुमा यो मन्त्रालयमा नियुक्त भएका खड्क खत्री २०७६ साउनमा बर्खास्तपछि जिम्मा मुख्यमन्त्री आफैले लिएका थिए । बैंकिङ कसुर सम्बन्धी मुद्दा लागेपछि मुख्यमन्त्री शाहीले खत्रीलाई बर्खास्त गरेका थिए।
कुर्मराज शाहीलाई मुख्यमन्त्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्। यसअघि कृषि मन्त्री रहेकी विमला केसीले हाल खाली रहेको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छिन्। सामाजिक विकास मन्त्री दल रावलले पनि चैत २४ गते राजीनामा दिएका थिए।
















