मलेसिया ( क्वालालम्पुर ) । नेपाली जनसम्पर्क समिति मलेसियाको बैठक सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा सम्पन्न भएको छ । बैठकले समसामयिक राजनीतिक अवस्था, संगठनको आर्थिक पक्ष तथा विभिन्न सांगठनिक विषयमा गम्भीर छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।
संगठनलाई थप प्रभावकारी र गतिशील बनाउन कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरिएको छ । प्रवासमा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने, लोकतान्त्रिक मूल्य–मान्यता र पार्टीको नीति तथा सिद्धान्तलाई प्रभावकारी रूपमा स्थापित गर्दै अघि बढ्ने विषयमा समेत बैठकमा विशेष जोड दिइएको थियो ।
यसैगरी बैठकले नेपाल विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष करुणा कटुवाल, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइराला तथा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना खरेललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकमा प्रवासमा रहेका नेपालीहरूका समस्या समाधानका लागि संगठनले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा समेत छलफल गरिएको समितिका महामन्त्री सरोज दाहालले जानकारी दिएका छन् ।

















