हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ घण्टा अगाडि

प्रधानमन्त्री मोदीको कडा कारबाहीको प्रतिबद्धतापछि सोनम वाङचुकद्वारा २६ औँ दिनमा अनशन अन्त्य

विशेष प्रतिनिधिनयाँ दिल्ली । प्रतिस्पर्धात्मक परीक्षामा भएका प्रश्नपत्र लीक प्रकरणका दोषीहरूमाथि कडा कारबाही गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धतापछि भारतका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले २६ औँ दिनमा आफ्नो अनिश्चितकालीन भोक हडताल अन्त्य गरेका छन्। गुरुवार मध्यराति गुरुग्रामस्थित मेदान्ता अस्पतालमा भारतीय केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र केन्द्रीय मन्त्री जितेन्द्र सिंहको उपस्थितिमा वाङचुकले जुस पिएर अनशन तोडेका हुन्।

Advertisement

​नीट लगायतका प्रतिस्पर्धी परीक्षामा भएका धाँधली, प्रश्नपत्र लीक र शिक्षा क्षेत्रमा पारदर्शिताको माग राख्दै वाङचुक असार १४ देखि दिल्लीको जन्तरमन्तरमा अनशनमा बसेका थिए। अनशनको २१ औँ दिनमा स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सफदरजङ्ग अस्पताल भर्ना गरिएको थियो। पछि दिल्ली उच्च अदालतको आदेशपछि उनलाई मेदान्ता अस्पताल सारिएको थियो।

Advertisement

​अनशन अन्त्य गरेपछि सामाजिक सञ्जालमा सन्देश जारी गर्दै वाङचुकले विभिन्न दलका ६५ जना सांसदको आग्रह, सरकारसँगको संवाद र मुलुकमा हुन सक्ने सम्भावित हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णयमा पुगेको बताएका छन्। उनले देशका युवाको असन्तोष र सम्भावित अशान्तिलाई मध्यनजर गर्दै केही सर्तहरूमा सरकारसँग सहमति भएको र प्रदर्शनकारीहरूमाथि कुनै पनि प्रतिशोधपूर्ण दण्डात्मक कारबाही नगर्ने आश्वासन पाएको जानकारी दिँदै आफ्ना समर्थकहरूलाई शान्त र सतर्क रहन अपिल समेत गरेका छन्।

​वाङचुकले अनशन तोड्नुभन्दा केही समयअघि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देश जारी गर्दै युवाहरूको भविष्यसँग खेलवाड गर्नेहरूलाई कुनै हालतमा नछोडिने बताएका थिए। प्रधानमन्त्री मोदीले युवाहरूको भविष्य रक्षा गर्नु सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै परीक्षामा हुने धाँधली रोक्न र दोषीलाई द्रुत गतिमा सजाय दिलाउन सरकारले फास्ट ट्र्याक कोर्ट गठन गर्ने र संसद्को जारी सत्रबाटै यससम्बन्धी कडा कानुन पास गरिने प्रतिबद्धता जनाएका थिए।

​प्रदर्शनकारी र सरकारबीच भएको सहमतिअनुसार परीक्षा प्रणालीमा पूर्ण पारदर्शिता ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक कदम चालिने आश्वासन दिइएको छ। वाङचुकको अनशन अन्त्यसँगै विगत एक महिनादेखि भारतभर चर्किएको विद्यार्थी आन्दोलन अब शान्त हुने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)