प्रधानमन्त्री सुशीला कार्कीले आज गण्डकी प्रदेशका विभिन्न जिल्लामा भ्रमण गरी आगामी निर्वाचनको तयारीको अनुगमन र समीक्षा गर्नुभयो। उहाँले मुस्ताङ जिल्लामा पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायतका क्षेत्रहरूको अवलोकन गर्नुभयो र स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन तयारीमा खटिएका कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गर्नुभयो।
जोमसोममा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकारी (जिल्ला न्यायाधीश) र सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको अवस्था, सम्भावित चुनौती र विशेष गरी मौसमी प्रतिकूलताका विषयमा विस्तृत छलफल भएको थियो। बैठकमा हिमाली तथा माथिल्लो भेगमा हिमपात वा वर्षा भएमा मतदान प्रभावित हुन सक्ने विषय उठेका थिए। यसका बारेमा प्रधानमन्त्री कार्कीले त्यस्ता क्षेत्रका कर्मचारी र सुरक्षाकर्मीहरूका लागि आवश्यक औषधी, प्राथमिक उपचार सामग्री र अन्य उपकरणको पर्याप्त व्यवस्था गर्न निर्देशन दिनुभयो।
प्रधानमन्त्रीले मुस्ताङका विभिन्न हिमाली बस्तीहरूको हवाई निरीक्षणसमेत गर्नुभएको थियो। त्यहाँको शान्ति सुरक्षाबारे स्थानीय अधिकारीहरूले कुनै समस्या नरहेको जानकारी दिएका छन्। यद्यपि, सहर झरेका मतदाताहरू अरु बेला चैतमा फर्किने गरेका भए पनि यसपालि निर्वाचनकै कारण महिना दिन अगावै फर्किएका छन् भन्ने जानकारी प्राप्त भएको छ।
मुस्ताङबाट फर्किएपछि प्रधानमन्त्री पोखरा पुगे र विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना मुख्यालयमा गण्डकी प्रदेश कमान्ड पोस्ट र निर्वाचन सेलसँग उच्चस्तरीय बैठक सम्पन्न भयो। बैठकमा प्रमुख सचिव डण्डुराज घिमिरे, पृतनापति उपरथी भोला थापा, कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, नेपाल प्रहरीका डीआईजी दीपेन्द्र जीसी, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र शाह, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल र कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतको उपस्थिति थियो।
बैठकमा प्रमुख सचिव र पृतनापतिले निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, मतदान स्थल, मौसमी चुनौती र आकस्मिक योजनासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। त्यसपछि विभिन्न निकायका प्रमुखहरूले आफ्नो धारणा राखेका थिए।
बैठकमा प्रस्तुत जानकारीअनुसार राजनीतिक दलहरूमा निर्वाचनप्रति उत्साह देखिएको छ भने मतदातामा पनि जागरण रहेको उल्लेख गरिएको छ। आचारसंहिता पालनाका सन्दर्भमा सम्झाउने र सहकार्यको वातावरण पनि रहेको पाइन्छ। यद्यपि, केही समूहले सामाजिक सञ्जालमार्फत बहिष्कारको नाममा वातावरण धमिल्याउन प्रयास गरेको विषय पनि उठेको छ, र त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याउने क्रम पनि चलिरहेको छ।
गण्डकी प्रदेशमा कुल १८ लाख ४४ हजार ३५५ मतदाता रहेका छन्। १८ निर्वाचन क्षेत्रमा ३१४ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये २९ जना महिला उम्मेदवार रहेका छन्। प्रदेशभर १,२६९ मतदान स्थल तोकिएका छन्। मौसम अनुकूल रहेको र मौसमविद्हरूले प्रतिकूलताको पूर्वानुमान नगरेकोले तोकिएको मिति फागुन २१ गते एकै दिन निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
प्रधानमन्त्री कार्कीले हालसम्मको तयारीलाई सन्तोषजनक र उत्साहप्रद भन्दै सम्बन्धित अधिकारीहरूलाई धन्यवाद दिँदै भन्नुभयो, “निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विवादमुक्त रूपमा सम्पन्न गराउन फिल्डमा खटिएका कर्मचारी तथा सुरक्षा निकायको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। राष्ट्रलाई निकास दिने माध्यमको रूपमा यस निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिएर सबैले मिलेर दायित्व पूरा गर्नुपर्नेछ।”


















