बिर्तामोड, बिर्तामोड नगरपालिकाले यस वर्ष पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापुलोना भाइरस (एचपिभी) खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत १५ सयभन्दा बढी किशोरीलाई खोप लगाइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी तथा सामुदायिक ५६ वटा विद्यालयमा पुगेर कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ । खोप अभियान विद्यालयमै पुगेर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
जनस्वास्थ्य निरीक्षक गणेश रिजालले गत वर्षको अभियानमा छुटेका लक्षित उमेर समूहका किशोरीलाई पनि यस वर्ष अनिवार्य रूपमा खोप लगाइने बताउनुभयो । उहाँका अनुसार प्रत्येक विद्यालयबाट खोप छुटेका किशोरीहरूको नाम रोल नम्बर सहित संकलन भइसकेको छ ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत संजय ठकुरीले पहिलो चरणमा खोप कार्यक्रम र दोस्रो चरणमा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रतिदिन औसत चार महिलाको मृत्यु हुने गरेको उल्लेख गर्दै उहाँले यस रोगको रोकथामका लागि एचपिभी खोप अत्यावश्यक रहेको बताउनुभयो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले अभियानको सफलताका लागि प्रचार–प्रसार र समन्वयमा सबै जनप्रतिनिधिलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उहाँले लक्षित वर्गका किशोरीलाई व्यवस्थित र अनिवार्य रूपमा खोप लगाउन जोड दिनुभयो ।
बिर्तामोड नगरपालिकाले एचपिभी खोप सञ्चालनसम्बन्धी नगरस्तरीय अभिमुखीकरण गोष्ठी मंगलबार सम्पन्न गरेको छ । गोष्ठीमा नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
कक्षा ६ मा अध्ययनरत किशोरीका साथै विद्यालय जानबाट वञ्चित किशोरीलाई समेत खोप अनिवार्य रूपमा लगाइने नगरपालिकाले जनाएको छ । खोप अभियानका लागि नगरभर ६७ वटा खोप केन्द्र तोकिएको छ ।


















