झापा । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एउटा चर्चित बारमा आइतवार राति भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा २२ जना गम्भीर घाइते भएका छन् भने अन्य कयौँ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बैङ्ककको ज्याटुज्याक क्षेत्रमा रहेको रङ बिअर ना लाट फ्राओ नामक रेस्टुराँ एवं मनोरञ्जन केन्द्रमा मध्यराततिर आगो सल्किएको हो । प्रत्यक्षदर्शीका अनुसार मञ्च (स्टेज) नजिकैबाट सुरु भएको आगो एकाएक पूरै भवनमा फैलिएको थियो । आगो लाग्नासाथ भवनको विद्युत् आपूर्ति बन्द भएपछि निसास्सिएका ग्राहकहरूबीच भागदौड मच्चिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा मानिसहरू चिच्च्याउँदै बाहिर भागिरहेको र कतिपयको कपडामै आगो लागिरहेको विभत्स दृश्य देखिन्छ ।

घटनास्थल पुगेका अग्निनियन्त्रकहरूले आधा घण्टामै आगो नियन्त्रणमा लिए पनि त्यतिन्जेलसम्म ठूलो मानवीय क्षति भइसकेको थियो । उद्धारकर्मीहरूका अनुसार अधिकांश मृतकको शव शौचालयमा फेला परेको छ । आगो र धुवाँबाट बच्नका लागि मानिसहरूले शौचालयमा ओत लिएको र त्यहीँ निसास्सिएर ज्यान गएको अनुमान गरिएको छ । मृतकहरूमा ९ पुरुष र १८ महिला रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा एअर कन्डिशनरमा भएको विद्युतीय शर्ट सर्किटको कारण आगो लागेको सङ्केत मिलेको छ । बैङ्ककका गभर्नरका अनुसार बारभित्र सजाइएका सामग्रीहरू अत्यधिक ज्वलनशील भएकाले आगो निकै तीव्र गतिमा फैलिएको हो । साथै, सामान बेच्न राखिएका टेबलहरूले निकास द्वार (एक्जिट डोर) छेकेका कारण पनि मानिसहरूले समयमै ज्यान जोगाउन नसकेको पाइएको छ ।
थाई प्रधानमन्त्री अनूतिन चान्वीरकूनले सोमवार बिहानै घटनास्थलको निरीक्षण गरी घटनाको उच्चस्तरीय अनुसन्धान गर्न निर्देशन दिएका छन् । थाइल्यान्डमा अग्नि सुरक्षा मापदण्ड फितलो हुँदा यसअघि सन् २०२२ र २००९ मा पनि यस्तै भयावह क्लब आगलागीमा परी कयौँले ज्यान गुमाएका थिए । स्थानीय प्रशासनले उक्त भवनलाई ३० दिनका लागि सिल गर्दै पीडित परिवारलाई आर्थिक राहतको घोषणा गरेको छ ।