झापा । लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ निवासी ४१ वर्षीय गुल्लु भनिने मोहम्मद असर्फ शेख रहेका छन्।
जिल्ला अदालत झापाले २०८१ असोज ११ गतेको फैसलामार्फत उनलाई लागुऔषध मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फैसला पछि फरार रहेका शेखलाई विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा खटिएको टोलीले उनलाई भद्रपुर–८ स्थित एसपी मोड क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउपछि शेखलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापामा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि उनलाई कैद भुक्तानीका लागि जिल्ला कारागार झापा चलान गरिएको प्रहरीले जनाएको छ।

















