काँकडभिट्टा, झापा — नेपाल-भारत सीमा क्षेत्रमा पर्ने मेची नदीको नयाँ पुलबाट सशस्त्र सीमा बल (एसएसबी) ले झन्डै १० लाख भारतीय रुपैयाँ र एउटा गाडीसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। नियमित जाँचका क्रममा ९ लाख ७४ हजार भारुको वैधानिक स्रोत खुलाउन नसकेपछि उनीहरू पक्राउ परेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधवार दिउँसो भारतको पानीट्याङ्कीतर्फ रहेको नयाँ मेची पुलमा एसएसबीको सीमा गुप्तचर टोलीले जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको थियो। टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिक्किम दर्ता नम्बरको महिन्द्रा एसयूभी कारलाई रोकेर तलासी लिँदा चालकको सिटमुनि र गाडीका अन्य गोप्य ठाउँहरूमा लुकाइएको अवस्थामा सो रकम बरामद गरेको हो।
पक्राउ पर्नेमा ४९ वर्षीय चालक जीवन विश्वकर्मा र २५ वर्षीय राहुल नेपाल रहेका छन्। उनीहरू दुवै जना सिक्किमको गान्तोकस्थित एक संस्थामा गाडीको खरिद-बिक्री कारोबारमा संलग्न रहेको बुझिएको छ। उनीहरूले प्रयोग गरेको गाडी आफ्नै नभई ग्राहकको भएको बताएका छन्।

सोधपुछका क्रममा चालक विश्वकर्माले ५ लाख २४ हजार रुपैयाँ आफ्नो भएको र नेपालमा सासूको उपचारका लागि लैजान लागेको दाबी गरेका छन् भने यात्रु नेपालले ४ लाख ५० हजार रुपैयाँ नेपाल भ्रमणका लागि बोकेको बताएका छन्।
रकमको स्रोत र ओसारपसारको वैधानिकता पुष्टि गर्ने कुनै पनि कागजात पेश गर्न नसकेपछि एसएसबीले बरामद भारु, कार र दुवै अभियुक्तलाई थप कानुनी कारबाहीका लागि पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयमा बुझाएको छ।
