झापा । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाका संयोजक तथा पूर्व माओवादी कमान्डर राजु आचार्य अग्नि ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टी परित्याग गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले २७ वर्ष लामो पार्टीसँगको राजनीतिक यात्रा आजको मितिबाट अन्त्य भएको घोषणा गरेका हुन्।

आचार्यले सार्वजनिक गरेको वक्तव्यमा आफू आजदेखि स्वतन्त्र नागरिकको हैसियतमा जीवनको नयाँ अध्याय सुरु गर्ने उल्लेख गरेका छन्। “प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु। २७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य भएको छ,” उनको भनाइ छ।

नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समय सक्रिय रहँदै आएका आचार्य झापा जिल्लामा माओवादी आन्दोलनका प्रभावशाली नेताका रूपमा परिचित छन्। पार्टी परित्यागको घोषणासँगै उनको आगामी राजनीतिक कदमबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।

राजनीतिक वृत्तमा आचार्य झापा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा चलेको छ। दुर्गा प्रसाई संरक्षक रहेको नयाँ राजनीतिक दलमार्फत उनी आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट चुनाव लड्न सक्ने अनुमान गरिएको छ। यद्यपि, यसबारे आचार्यले औपचारिक घोषणा भने गरेका छैनन्।

उनको पार्टी परित्यागलाई माओवादी केन्द्र झापाको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। आगामी दिनमा आचार्यको राजनीतिक भूमिकाले झापाको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्नेछ भन्ने चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार