हल्दिबारी ,बैशाख २०: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा कडा योग्यता निर्धारण गरेको छ। पार्टीले इच्छुक सदस्यहरूले अनिवार्य रूपमा ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडेमी’ पास गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
आइतबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बसेको सचिवालय बैठकले स्थानीय तहका लागि योग्य, सक्षम र नेतृत्व क्षमतायुक्त उम्मेदवार तयार पार्ने उद्देश्यसहित नीतिगत आधार पारित गरेको हो।
पार्टीका अनुसार अब रास्वपाबाट स्थानीय तहमा उम्मेदवार बन्न चाहने सदस्यहरूले तोकिएका आन्तरिक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक पूरा गर्नुपर्नेछ। यसलाई पार्टीले उम्मेदवार छनोटको प्रारम्भिक अनिवार्य चरणका रूपमा लागू गर्ने जनाएको छ।
यसअघि क्याण्डिडेट क्लब र लिडरशिप एकेडेमीको रूपरेखा तयार पार्न सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल गठन गरिएको थियो। सो कार्यदलले तयार पारेको मस्यौदा पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिसकेको छ।
रास्वपाले यो व्यवस्थाले स्थानीय तहमा योग्य र प्रभावकारी नेतृत्व छनोट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


















