काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो वक्तव्यमा उनले पार्टीभित्रका कार्यशैली र नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्दै “I QUIT” भन्दै राजीनामा दिएकी हुन्।
श्रेष्ठले लेखेकी छन् :

- “कहिल्यै गल्ति नस्विकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने अवस्था बनेको छ।”
- “पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने संस्कार जरा गाड्दै गएको छ।”
- “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएकी हुँ, तर त्यसले केही फरक पार्दैन।”
आफ्नो राजीनामा पत्रमा उनले थप लेखेकी छिन् :
“अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। I QUIT। मैले पार्टी छोडेँ।”
साथै, उनले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पुराना पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई समेत सन्देश दिँदै लेखेकी छन् :
“आजको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बहेराले हो। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् – कि हटाउनुहोस्, कि हट्नुहोस्।”
सुमना श्रेष्ठको पार्टी परित्यागसँगै रास्वपाभित्र फेरि आन्तरिक विवाद सतहमा आएको छ। अब यसले आगामी राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्नेबारे चासो बढेको छ।
