हल्दीबारी, झापा – हल्दीबारी गाउँपालिका वडा नं ३ मा अवस्थित श्री पञ्चायत माध्यमिक विद्यालय मा आज सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गर्दै ३५ जना विद्यार्थीलाई जुत्ता तथा मोजा वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
मेची महाकाली बुहारी संयुक्त आवाज का संस्थापक अध्यक्ष तथा मेम्बसा इन्टरनेसनल की अध्यक्ष यमु शर्मा सुम्बाकी सुपुत्री रोयक्षा शर्मा पौडेलको जन्मोत्सवको अवसर पारेर बालकक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक स्वरूप प्रयोग हुने जुत्ता–मोजा वितरण गरिएको हो।

विद्यार्थीहरूको शैक्षिक वातावरणलाई थप सहज, सम्मानजनक र प्रेरणादायी बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर लिङ्देन, सदस्यहरू अस्मिता मेयाङ्वो र गणेश केरुङ, मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, शिक्षक–विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष गणेश भट्टराईले संस्थाले विद्यालयलाई सम्झेर देखाएको सहयोगप्रति सम्मान व्यक्त गर्दै यसले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर लिङ्देन र प्रधानाध्यापक डिल्लीराम ढुंगेलले विद्यालय र विद्यार्थीप्रति सद्भाव अभिवृद्धि गर्ने यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याउँदै सहयोगी संस्थाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले संस्थाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामाजिक उत्तरदायित्वका विविध आयाममा गरिरहेका कार्यहरूको चर्चा गर्दै आजको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
मेची महाकाली बुहारी संयुक्त आवाजकी जिल्ला अध्यक्ष गङ्गा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा शुभकामना मन्तव्य अभिषेक खतिवडाले राख्नुभएको थियो भने सञ्चालन तथा सहजीकरण जिल्ला सदस्य चन्दा उप्रेतीले गर्नुभएको थियो। यस किसिमका सामाजिक तथा शैक्षिक सहकार्यले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन र अध्ययनप्रतिको लगाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
