काठमाडौं — नेपाली सेनाले मंगलबार रातिदेखि सुरु भएको लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ।

सेनाले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लागेको आगो नियन्त्रणका लागि तीनवटा वारुण यन्त्र परिचालन गरिएको छ।

गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा सञ्चालन गरिएको अपरेसनका क्रममा लुटपाटमा संलग्न समूहबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद भएको छ।
त्यसैगरी, सेनाले काठमाडौंका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका ३१ नाल हतियार, म्यागजिन तथा गोलीगठ्ठासहित बरामद गरेको छ।
घटनामा २३ जना नेपाल प्रहरी र ३ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको अहिले सैनिक अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ।