वीरेन्द्रनगर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार बिहान १०:४५ बजे आफ्नै घरमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको ज्यान गएको हो।

प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले दिएको जानकारी अनुसार आचार्य दम्पतीले विद्युतीय मेसिन प्रयोग गरी घाँस काट्दै गर्दा अचानक मेसिनको तारबाट करेन्ट प्रवाह भएको थियो। त्यस क्रममा दुवै जना गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामा तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि उपचारको क्रममा बिहान ११:१५ बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।