वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित एक गोदाममा सशस्त्र प्रहरी बलका जवानमाथि तस्कर समूहको आक्रमण हुँदा तीन जना घाइते भएका छन्। घटना सोमबार बिहान आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा भएको हो।
सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले अवैध रूपमा गोदाममा राखिएको कपडा बरामद गर्न छापा मारेको थियो। छापामा करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद भएको सामानसँगै तस्कर समूहले प्रहरीमाथि ढुंगामुढा र हातपात गर्दै आक्रमण गरेको घटना सामनमा आएको छ। आक्रमणका क्रममा एक वानटेन र एक स्कार्पियो गाडीमा क्षति पुगेको छ। घाइते सुरक्षाकर्मीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटना क्षेत्रीय तस्करी नियन्त्रणको चुनौती बढिरहेको संकेत पनि हो। सामाजिक सञ्जालमा प्रसारित भिडियोमा तस्करले सशस्त्र प्रहरीमाथि आक्रमण गर्दै घाइते बनाएको देखिन्छ।
विश्लेषकहरूका अनुसार सीमा क्षेत्रमा तस्करी नियन्त्रण, स्थानीय सहयोग अभाव र सुरक्षाकर्मीहरूको मनोबल घट्दा यस्तो घटना दोहोरिन सक्ने अवस्था छ।
सशस्त्र प्रहरी बलले घटनाको अनुसन्धान सुरु गरेको छ।


















