वृन्दावन (भारत)। भारतको उत्तर प्रदेशस्थित वृन्दावनको यमुना नदीमा शुक्रबार डुंगा पल्टिँदा १० जना श्रद्धालुको मृत्यु भएको छ। वृन्दावनको प्रसिद्ध केसी घाट नजिक श्रद्धालु सवार डुंगा पन्टुन पुलमा ठोक्किएर दुर्घटना भएको हो।
प्रहरी र स्थानीय प्रशासनका अनुसार डुंगामा करिब २५ जना श्रद्धालु सवार थिए। दुर्घटना लगत्तै स्थानीय बासिन्दा, गोताखोर र उद्धार टोलीले खोजी कार्य सुरु गरेका थिए। १५ जनालाई नदीबाट जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमध्ये केही घाइते भएकाले उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्राप्त जानकारी अनुसार तीर्थयात्रीहरूको उक्त समूह पञ्जाबको लुधियाना र मुक्तेश्वरबाट वृन्दावन दर्शनका लागि आएको थियो। डुंगामा क्षमताभन्दा बढी यात्रु रहेका कारण सन्तुलन बिग्रिएर पुलमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न र उद्धार कार्यलाई तीव्रता दिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। प्रशासनले मृतकहरूको पहिचान खुलाउने र परिवारलाई जानकारी दिने प्रक्रिया अघि बढाएको छ।
