हल्दीबारी, झापा । झापा बिर्तामोडमा रहेको एन. के. नेपाल ट्रेड एन्ड सप्लायर्स प्रा.ली.ले हल्दीबारीकी मृतक विद्यार्थी आरती राजवंशीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। गत फागुन २९ गते घटेको एक दुःखद प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएकी हल्दीबारी गाउँपालिका वडा नं. २ निवासी प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरतीको परिवारलाई संस्थाले ३१ हजार ५०० रुपैयाँ नगद सहयोग गरेको हो। मृतक आरतीका दाजु उदिप राजवंशी सोही संस्थामा सदस्यका रूपमा आबद्ध रहेका छन्।
हल्दीबारी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आरती एसइई परीक्षाको अन्तिम तयारीमा थिइन्। एउटा उज्यालो भविष्य बोकेकी मेधावी छात्राको अचानक भएको असामयिक निधनले सम्पूर्ण हल्दीबारी क्षेत्र यतिबेला स्तब्ध बनेको छ। शोकमा डुबेको परिवारलाई थोरै भए पनि राहत र सहारा मिलोस् भन्ने उद्देश्यले एन. के. नेपाल ट्रेडको यो सहयोग उपलब्ध गराइएको हो। संस्थाले आफ्ना सदस्यहरूलाई सरल र किस्ताबन्दी रूपमा घरायसी सामानहरू उपलब्ध गराउँदै आएको छ।

रकम हस्तान्तरणकामा संस्थाका म्यानेजर नवीन न्यौपाने, फिल्ड म्यानेजर धनबहादुर बुढाथोकी र एजेन्सी डिलर हिरण राजवंशीको उपस्थिति रहेको थियो। उहाँहरूले संयुक्त रूपमा मृतक आरतीकी माता पूर्णिमा राजवंशीलाई ३१ हजार ५०० रुपैयाँ हस्तान्तरण गर्नुभयो। विपत्तिको यस घडीमा निजी क्षेत्रका संस्थाहरूले देखाएको यो मानवीय संवेदनाले पीडित परिवारलाई केही हदसम्म आर्थिक र मानसिक ढाडस पुगेको स्थानीयले महसुस गरेका छन्।
