अभिषेक खतिवडा/असोज ३१ । समाजको विकास र रूपान्तरणका लागि युवाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। यही सोचका साथ वि.सं. २०५७ मा स्थापित सगुन युवा क्लब आज समुदायमा सामाजिक चेतना फैलाउने, सहयोग र सकारात्मक परिवर्तनको अभियान सञ्चालन गर्ने अग्रणी संस्था बनेको छ।
क्लबका संस्थापक अध्यक्ष तथा हालका कमल गाउँपालिका अध्यक्ष श्री हुकुम सिंह राईको नेतृत्वमा क्लबले आफ्नो प्रारम्भिक चरणदेखि नै सामाजिक उत्तरदायित्व र सामुदायिक विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको देखिन्छ ।
हाल क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बे र सचिव राेशन दाहालको संयोजनमा क्लबले स्थानीय स्तरमा विभिन्न धार्मिक , सामाजिक, शैक्षिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूलाई सक्रियताका साथ अगाडि बढाइरहेको देखिन्छ ।
सगुन युवा क्लबले सरसफाइ अभियान, वृक्षरोपण, र वातावरण संरक्षण कार्यक्रम सञ्चालन गरी स्थानीय क्षेत्रलाई सफा, हरियाली र स्वस्थ बनाउन उल्लेखनीय योगदान पुर्याएको छ।
स्वास्थ्यका क्षेत्रमा क्लबले रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य परीक्षण शिविर, र मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै समुदायमा सेवा र जागरण फैलाएको छ।
कोरोना महामारीको कठिन समयमा, क्लबले विदेशमा रहेका शुभेच्छुक नेपालीहरूबाट आर्थिक सहयोग संकलन गरी राहत वितरण कार्य सम्पन्न गरेको थियो। खाद्यान्न, औषधि र आवश्यक सामग्री वितरणमार्फत क्लबले संकटमा परेका धेरै परिवारहरूलाई राहत पुर्याएको थियो।
सगुन युवा क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण र प्रवर्द्धनमा पनि विशेष योगदान पुर्याएको छ। क्लबकै पहलमा नेपालकै पहिलो भलिबल सालिक निर्माण गरी खेलप्रति सम्मान र गर्वको भावना जागृत गरिएको छ।
यससँगै, क्लबले एकादशी मेलाका अवसरमा लोपोन्मुख संथाल जातिको सांस्कृतिक नृत्य, पोशाक र परम्परा संरक्षण अभियान सञ्चालन गर्दै आएको छ। स्थानीय बजार व्यवस्थापन, मेलामा स्वच्छता र सहकार्यका कार्यक्रमहरूले समुदायमा एकता र सद्भावको सन्देश फैलाएका छन्।
सांस्कृतिक क्षेत्रको सुदृढीकरणका लागि क्लबले बालबालिकालाई लोक संस्कृति शिक्षण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। यसमार्फत नयाँ पुस्तामा परम्परा, नृत्य, गीत, र संस्कृति प्रती सम्मानभाव जागृत गराउने कार्य भइरहेको छ।
शिक्षाको क्षेत्रमा क्लबले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग, विद्यालय सुधार अभियान, र उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विपद्का बेला क्लबका सदस्यहरू सधैं अग्रपंक्तिमा रहँदै बाढी, आगलागी, र भूकम्प जस्ता प्राकृतिक विपद्मा राहत वितरण र सहयोग अभियान सञ्चालन गर्दै आएका छन्।
युवाहरूलाई अनुशासित, स्वस्थ र एकताबद्ध बनाउने उद्देश्यले क्लबले फुटबल, भलिबल, दौड, र अन्य खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ। साथै, सांस्कृतिक कार्यक्रम र सामाजिक सद्भावका गतिविधिहरूले स्थानीय एकता र सहकार्यलाई अझ मजबुत बनाएको छ।
अन्ततः, सगुन युवा क्लब केवल खेलकुद वा सामाजिक संस्था मात्र होइन, यो समुदायको आशा, एकता र सकारात्मक सोचको प्रतीक हो। युवाको ऊर्जा, समर्पण र नेतृत्त्वको निरन्तर प्रयासले यो संस्था आज समाज परिवर्तनको उज्यालो उदाहरण बनिसकेको छ।

















