हल्दिबारी (झापा) । हल्दीबारी गाउँपालिकामा तराई दलित समुदायका लागि आयोजित कानुन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सम्यक परामर्श केन्द्र इटहरीको आयोजनामा भएको उक्त कार्यक्रममा दलित समुदायको संवैधानिक हक र प्रचलित ऐन कानुनका बारेमा प्रशिक्षण दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले दलित समुदायले आफ्नो अधिकार प्राप्तिका लागि कानुनको ज्ञान राख्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले राज्यले प्रदान गरेका सेवा र सुविधाहरूको उपभोग गर्न कानुनी रूपमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सम्यक परामर्श केन्द्रकी कार्यक्रम संयोजक यज्ञकुमारी रूचालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले स्थानीय सरकार दलित तथा पछाडि पारिएका समुदायको उत्थानका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । त्यस्तै, उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले महिला र दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि यस्ता सचेतनामूलक कार्यक्रमले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

अधिवक्ता बद्रीप्रसाद पोखरेल र हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन ‘महेन्द्र’ ले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । उहाँहरूले सहभागीहरूलाई नेपालको संविधानमा व्यवस्था गरिएका दलितका हक, छुवाछुत विरुद्धको ऐन र नागरिकका कर्तव्यका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा हल्दीबारीका विभिन्न वडाका वडा अध्यक्षहरू देवी बहादुर थापा, सन्तकुमार थापा र शुकलाल राजवंशीको उपस्थिति थियो । त्यसैगरी कार्यपालिका सदस्यहरू शान्ता शिवाकोटी, भगिरथा दाहाल, सुष्मा महरा, रूपा रसाइली तथा वडा सदस्यहरू शान्ता गहतराज र प्रकाश कार्की लगायतको सहभागिता रहेको थियो ।

अभिमुखीकरणमा गाउँपालिकाका विभिन्न वडाबाट ४० जना दलित अगुवाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले आफूहरूलाई कानुनी प्रक्रिया बुझ्न र अन्यायविरुद्ध आवाज उठाउन हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।


















