झापा । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तह र संघ–संस्थाको भूमिकाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाको आयोजनामा भएको कार्यक्रममा विपद् व्यवस्थापनमा स्थानीय सरकार, रेडक्रस तथा अन्य सरोकारवाला निकायहरूले कसरी प्रभावकारी समन्वय गरेर काम गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिएको थियो।
उपशाखा सभापति कर्णखर प्रसाईको अध्यक्षता तथा वडा नम्बर २ का अध्यक्ष शुकालाल राजवंशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वडा नम्बर २ का विभिन्न विद्यालयका शिक्षक, संघ–संस्थाका प्रतिनिधि, स्थानीय प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, सचेतना अभिवृद्धि र समन्वयात्मक कार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
छलफलका क्रममा विपद् आइपरेको अवस्थामा स्थानीय सरकार, रेडक्रस तथा अन्य सरोकारवालाले खेल्नुपर्ने भूमिका र सम्भावित सहयोगका क्षेत्रहरूबारे पनि विचार आदान–प्रदान गरिएको थियो।
रेडक्रस उपशाखा सभापति कर्णखर प्रसाईका अनुसार विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तह, समुदाय र विभिन्न संघ–संस्थाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए।


















