हल्दिवारी, झापा । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ५ स्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको धनुषा पोखरी संरक्षणका लागि स्थानीय स्तरबाट श्रमदान अभियान सुरु गरिएको छ । श्रम संस्कृति पार्टी, हल्दिवारी गाउँ समितिको आयोजनामा शनिबार हल्दिवारी-५ मा रहेको सो पोखरी परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
श्रम संस्कृति पार्टी हल्दिवारी गाउँ समितिका अध्यक्ष एवं अगुवा श्रमदाता सुमन नेम्बाङको नेतृत्वमा भएको उक्त कार्यक्रममा पालिकाका पाँचै वडाका श्रमदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई व्यवस्थित बनाउन सबै वडा समितिका अध्यक्षहरूको अगुवाइमा सम्बन्धित वडाका श्रमदाताहरूलाई सहभागी गराइएको आयोजकले जनाएको छ ।

धनुषा पोखरीलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यले गरिएको यस श्रमदानमा युवादेखि वृद्धसम्मको सक्रियता देखिएको थियो । अभियानलाई सफल पार्न स्थानीय समाजसेवी तथा विभिन्न महानुभावहरूले खाद्यान्न, तरकारी, खानेपानी, चिसो पेय पदार्थ र काम गर्दा आवश्यक पर्ने पन्जाहरू सौजन्य गरेका थिए । आयोजकले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण दाताहरूप्रति हार्दिक आभार प्रकट गरेको छ ।
पोखरीको सरसफाइ कार्य अझै पूर्ण नभएकाले आगामी शनिबार पनि सोही स्थानमा पुनः श्रमदान कार्यक्रम सञ्चालन गरिने अध्यक्ष सुमन नेम्बाङले जानकारी दिनुभयो । ‘हाम्रो गाउँ, हामी आफैँ बनाउँ’ भन्ने भावनाका साथ सुरु गरिएको यो अभियानलाई निरन्तरता दिँदै पर्यटकीय क्षेत्रको संरक्षणमा स्थानीयलाई गोलबन्द गरिने उहाँको भनाइ छ ।
