झापा, हल्दीबारी । हल्दीबारी गाउँपालिका वडा नं. २ मा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा चोरी भएको घटना सार्वजनिक भएको छ। विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर बोहोरा अनुसार, चोरीमा विद्यालयको सम्पूर्ण डाटा रहेको १ थान कम्प्युटर र विद्यार्थीहरुको परिचयपत्र बनाउन संकलित करिब ९ हजार रुपैयाँ नगद हराएको छ।

घटनाको प्रकृति हेर्दा चोरले सुरुमा कार्यालय कोठाको झ्यालबाट छिर्ने प्रयास गरेको तर नसकेपछि विद्युतको मुख्य एमसिवि काटेर, सिसी क्यामेरा तोडफोड गरी ढोका फोडी भित्र प्रवेश गरेको देखिन्छ।

त्यस्तै ८–९ महिना अघि पनि यसै विद्यालयमा चोरी भएको थियो। त्यसबेला विद्यालयमा जडान गरिएका विद्युत तार र नजिकैको मन्दिरमा रहेका तामाका तथा पित्तलका पूजाका भाँडाकुडा हराएका थिए।
हल्दीबारी क्षेत्रमा प्रायः दैनिक जस्तै चोरीका घटनाहरू भइरहेका स्थानीयवासीले बताएका छन्। चोरी घटनासम्बन्धमा अनुसन्धान भइरहेको र दोषीलाई पत्ता लगाउन खोजी कार्य तीव्र पारिएको प्रहरी चौकी हल्दीबारीका इन्चार्ज ज्ञान बहादुर श्रेष्ठले जानकारी दिनुभयो।