हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिका–२ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मिलनचोक पश्चिम मा ३७ वर्षीय सुनिल राम सोरेन स्थानीय पार्वती पाण्डेको धानखेतमा मृत अवस्थामा भेटिएका हुन्।
स्थानीयले आज बिहान धानबारीमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार उनी गएराति कामबाट घर फर्किने क्रममा आएको हावाहुरी र पानीका कारण लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
मृतक सोरेनको शव आवश्यक अनुसन्धान तथा जाँचपड्तालपछि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सोरेनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।
यसैबीच, गएराति हल्दीबारीकै पारोखोपी क्षेत्रमा अर्को दुर्घटनामा एक छात्राको मृत्यु भएको थियो । हल्दीबारी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ती छात्राको घरमै आँपको रुख ढलेर किच्दा मृत्यु भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















