हल्दीबारी (झापा) — गएराति अज्ञात समूहले हल्दीबारी क्षेत्रका दुईवटा धार्मिक स्थलमा चोरी गरी लाखौँ मूल्य बराबरको धनमाल र नगद लुटेका छन् ।
स्थानीय स्रोतका अनुसार, बिहीबार बिहानको राति अन्दाजी १:३० बजेको समयमा सुरेश्वर स्वर्गद्वारी मन्दिर र किराँत माङहिम मन्दिरलाई लक्षित गरी चोरी भएको हो ।
सुरेश्वर स्वर्गद्वारी मन्दिरबाट २५० वाट क्षमताको एक थान ‘आहुजा’ एम्प्लिफायर, २४ भोल्टको एक थान ब्याट्री र दानपेटीकामा संकलन भएको १३ हजार रुपैयाँ नगद चोरी भएको छ । यस्तै, सोही राति नजिकै रहेको किराँत माङहिम मन्दिरको दानपेटीका समेत फुटाई त्यहाँ रहेको १५ हजार रुपैयाँ नगद चोरी भएको स्थानीयले जनाएका छन् ।
पवित्र धार्मिक स्थलहरूमा शृङ्खलाबद्ध रूपमा भएको यस घटनाले हल्दीबारीका स्थानीय भक्तजन र सिङ्गो समुदाय स्तब्ध बनेका छन् । मन्दिर व्यवस्थापन समितिले सामाजिक र नैतिक मूल्य-मान्यतामाथि प्रहार गर्ने यस्ता तत्वहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।
घटनाबारे सम्बन्धित प्रहरी चौकीमा जानकारी गराइसकिएको र अनुसन्धान प्रक्रिया अघि बढाउन अपिल गरिएको छ । साथै, मन्दिर व्यवस्थापन र स्थानीय भद्रभलाद्मीहरूले उक्त समयमा मन्दिर आसपास संकास्पद गतिविधि देखेका वा यसबारे केही जानकारी पाएका व्यक्तिहरूलाई तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा सूचना दिई सहयोग गर्न विनम्र अनुरोध गरेका छन् ।

















