झापा । हल्दीबारी गाउँपालिका–२ पाराखोपीमा घरमै सुतिरहेको अवस्थामा आँपको रुख ढल्दा १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको छ।

प्रहरीका अनुसार गएराति घरमा सुतिरहेको बेला अचानक आँपको रुख ढलेर किचिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। मृतक आरती प्रेमलाल राजवंशीकी छोरी हुन्।
आरती हल्दीबारी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन्। उनी यस वर्षको एसईई परीक्षाको तयारी गरिरहेकी छात्रा थिइन्। आकस्मिक प्राकृतिक विपत्तिले उज्यालो भविष्यको सपना बोकेकी एक किशोरीको ज्यान गएपछि स्थानीयवासी तथा विद्यालय परिवार स्तब्ध बनेका छन्।

घटनापछि ढडुवा युवा क्लब, हल्दीबारी–३ ले पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै आर्थिक सहयोग प्रदान गरेको छ। क्लबले विभिन्न व्यक्तिबाट सहयोग संकलन गरी घटना भएको २४ घण्टाभित्रै मृतकको घरमै पुगेर १५ हजार ५ सय ५५ रुपैयाँ परिवारलाई हस्तान्तरण गरेको जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष कुलबहादुर न्यौपाने (गोपाल), सचिव अभिषेक खतिवडा तथा स्थानीय सामाजिक व्यक्तित्वहरू मनवीर कार्की, ओम भट्टराई, भोजराज ढुंगेल, रुद्र भट्टराई, गणेश नेम्वाङ, जनक राजवंशीलगायतको उपस्थिति थियो।

क्लबका सचिव खतिवडाले विपत्तिमा परेका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक संकलन अभियान सञ्चालन गरिएको बताए। उनले यो सहयोग मानवीय संवेदनाको सानो प्रयास मात्र भएको उल्लेख गर्दै आगामी दिनमा पनि परिवारलाई थप सहयोग जुटाउने प्रयास जारी रहने बताए।

सहयोग हस्तान्तरणका क्रममा उपस्थित युवाहरूले दिवंगत आरती राजवंशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

स्थानीयवासीका अनुसार पछिल्लो समय ढडुवा युवा क्लबले समाजमा विभिन्न सामाजिक तथा परोपकारी गतिविधि सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वसम्बन्धी अभियान अघि बढाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार