भद्रपुर, वैशाख ९ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपमा नेपाल पुलिस फुटबल क्लबले एक खेलाडी कम भएको चुनौतीपूर्ण अवस्थामा पनि सनसनीपूर्ण जित हात पारेको छ। मुख्य गोलकिपरले खेलको सुरुवातमै रातो कार्ड पाएर मैदान छाड्नुपरे पनि सम्हालिएको प्रदर्शन गर्दै पुलिसले भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५–१ को फराकिलो अन्तरले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको हो। अब फाइनल प्रवेशका लागि पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।
खेलको १४ औँ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथले डिबक्स बाहिर आएर बल समातेपछि रेफ्रीले रातो कार्ड देखाउँदै उनलाई बाहिर पठाएका थिए। त्यसपछि १० खेलाडीमा समेटिएको पुलिसविरुद्ध लक्ष्मीबाईकी हेमन्ती कुमारीले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्। तर, ३८ औँ मिनेटमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।

दोस्रो हाफमा थप आक्रामक बनेको पुलिसका लागि कप्तान अमृता जैसी, सम्झना लावती र मिना देउवाले १–१ गोल थपे। खेलको अन्तिम समयमा पूजा रानाले मैदानको मध्यभागबाट गरेको प्रहार सिधै गोलमा परिणत भएपछि पुलिस ५–१ ले विजयी भयो। उत्कृष्ट प्रदर्शन गरेकी पूजा राना ‘प्लेयर अफ द म्याच’ घोषित भई ११ हजार रुपैयाँ प्राप्त गरिन्। भोलि बिहीबार एपीएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच अन्तिम क्वार्टर फाइनल खेल हुनेछ।


















