बिचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

अझै आन्दोलन बाँकी हुन सक्छ ?

इन्द्र प्रसाद ओली / देशका ठूल्ठूला मञ्चहरूबाट, शासकीय चोकहरूबाट, अनि बौद्धिक सभा-सेमिनारहरूबाट बारम्बार घोषणा गरियो। 
”नेपालमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेको छ, अब आर्थिक क्रान्ति मात्रै बाँकी छ।” सत्तामा रजगज गरिरहेकाहरू, बौद्धिकताको खोल ओढेका ठूला नामधारीहरू, र लाभको शिखर चढेका व्यवसायीहरू सबैजना यही मन्त्रोच्चारणमा मग्न देखिए।
वैकल्पिक भनिएका शक्तिहरू पनि, जो परिवर्तनका आशा बोकेर उदाएका थिए, “व्यवस्था परिवर्तन होइन, अवस्था परिवर्तन मात्रै चाहिएको हो” भनेर आत्मसमर्पणको गाथा सुनाइरहे।

तर, म मौन बस्न सकिनँ।
किनभने यो धर्ती, यो आकाश, यो इतिहास ती सबै चिच्याइरहेका थिए : “यो परिवर्तन अधूरो छ!”
वि.सं. २००७ सालदेखि २०६२/०६३ सम्मका आन्दोलनहरू त्यो जनसागरको उर्लाहट, युवाको लहसिएको सपना, र आम नागरिकको चिच्याएको न्याय अहिले पनि अधुरो प्रतीक्षा बनि यहीं कतै अड्किएको छ।
राजनीतिक क्रान्तिको उद्घोष त भयो, तर त्यो क्रान्ति कुनै वैचारिक क्रान्तिमा रूपान्तरित हुन सकेन। न नीति फेरियो, न नियत। न लक्ष्य बदलियो, न गन्तव्य।

विज्ञापन (Advertisement)Advertisement

२०७२ को संविधान एक दस्तावेज, जसले आशा भन्दा धेरै प्रश्नहरू जन्मायो।
धर्म निरपेक्षताको नाममा आफ्नो चिरपरिचित पहिचान गुमाउने भय, आरक्षणको नाममा बढ्दो विभेद, र प्रदेश संरचनाको नाममा राष्ट्रिय एकतालाई चिथोर्ने खेल यी सबै विषय मैले बारम्बार उठाएँ।
लेखें, बोलेँ, आग्रह गरें तर दुर्भाग्य, नेपालीले नेपालीका लागि बोलेको सुन्ने संस्कार हामीमा अझै जन्मिएको छैन।
यहाँ स्थान पाउनेहरू त सदैव कोशों पारीका आवाजहरू हुन् जहाँबाट आदेश आउँछ, अनि यहाँ नेतृत्वले त्यो एजेण्डा बोक्छ, जनतामाथि लाद्छ।

इतिहासले पटक-पटक सम्झायो हामीले पटक्कै नसुनेजस्तो गर्‍यौं।
हामी न त विगतबाट पाठ सिक्न सकेका छौं, न वर्तमानलाई आत्मसमीक्षा गर्न तयार छौं।
हाम्रो परिवर्तन सधैं प्रदर्शनमा सीमित रह्यो, परिवर्तनका नाराहरू केवल सत्ता साटासाटको औजार बने।
जनताको जीवन फेरिएन मूल भावना, मूल्य र विचारको क्रान्ति अझै अधुरै छ।जेन-जिको आह्वानमा आन्दोलन भयो तर त्यसपछि पनि न राजनीति शुद्ध बन्यो, न अर्थनीति जनमुखी बन्यो, न शिक्षानीति आत्मनिर्भर।
त्यसैले म भन्न चाहन्छु यदि यथास्थिति नै दोहोरिरहने हो भने, नेपाल सधैं आन्दोलनकै आँधीमा बगिरहनेछ। संक्रमणकै ताप मा झुल्सिरहनेछ

म अझै लेखिरहेछु, चेतावनी दिइरहेछु, बोलिरहेछु
नेपालीका लागि नेपाल केन्द्रित राजनीतिमा हामी कहिले फर्किने ?
अरूले लादेका विचार, विदेशी सोच, बाह्य चासोहरूलाई आत्मसात् गर्दै हामीले हाम्रो मार्ग खोज्न सक्दैनौं।
अन्ततः त्यो आन्दोलन देखिने मात्रै हुन्छ, तर आत्माको तिर्खा मेट्ने होइन। हामी कहिले सिक्ने इतिहास पढ्ने मात्र होइन, लेख्ने पनि हो भन्ने पाठ विगतका गल्तीबाट शिक्षा लिइएन भने, भोलिको संकट अझ भयावह हुनेछ।
आजको आवश्यकता हो सबै नागरिक चेतनशील बनून्, एउटै राष्ट्रिय भावनामा समेटिएर उठून्, र सोधून् ” के यो देश साँच्चै हाम्रो हो?”

यदि हो भन्ने लाग्छ भने अबको यात्रा आत्मसम्मान, आत्मनिर्भरता र आत्मचेतनाको यात्रा हुनुपर्छ।
हाम्रो आन्दोलन अझै बाँकी छ तर यसपटक त्यो विचारको, मूल्यको र आत्माको आन्दोलन होस्।

 

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)