झापा , २३ चैत । झापामा सञ्चालित लागूऔषध विरुद्धको ‘अपरेशन ब्राउन’ अभियानअन्तर्गत अर्जुनधारा नगरपालिकाबाट प्रहरीले भारी मात्रामा खैरो हिरोइनसहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
सोमबार दिउँसो १:३० बजे अर्जुनधारा नगरपालिका-६ स्थित अदुवा खोलाको भत्केको पुल नजिकैबाट उनीहरू पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले सो कारबाही गरेको हो।
पक्राउ पर्नेहरू:
१. धन बहादुर राजवंशी (३७ वर्ष): गौरादह नगरपालिका-३ निवासी (हाल अर्जुनधारा-६ मा डेरा गरी बस्ने)
२. तिनतालु राजवंशी (४५ वर्ष): अर्जुनधारा नगरपालिका-११, सालबारी
३. सृजना राई (३० वर्ष): गौरादह नगरपालिका-३, चप्रामारी
लखी मुर्मुको घरमा डेरा गरी बस्ने धन बहादुर राजवंशीको कोठामा लागूऔषध बिक्री भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। खानतलासीका क्रममा प्रहरीले उनीहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने लिस्याइलो पदार्थ फेला पारेको हो।
डिजिटल तराजुमा तौल गर्दा प्लास्टिक बाहेक २२ ग्राम परिमाण रहेको उक्त पदार्थसहित तीनै जनालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकाहरूलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ।
झापा जिल्ला प्रहरीले २०८२ चैत १ गतेदेखि जिल्लाभर लागूऔषध ओसारपसार र दुर्व्यसन विरुद्ध ‘अपरेशन ब्राउन’ अभियान सशक्त रूपमा सञ्चालन गरिरहेको छ।


















