समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

“अभिवादन कमरेड : शब्द बाँधियो, कम्युनिस्ट किन बाँधिन सकेनन् ?”

‘कमरेड’ शब्द स्पेनिश भाषाको Camarada बाट आएको मानिन्छ। यसको शाब्दिक अर्थ— एउटै कोठामा सँगै बस्ने साथी, जसले एक–अर्काको सुख–दुःख मात्र होइन, जीवनका सबै उतार–चढाव नजिकबाट देखेको हुन्छ। मर्दा–पर्दा सबैभन्दा काम लाग्ने, भरोसालाग्दो मित्र— त्यही भावनाबाट ‘कमरेड’ शब्द जन्मिएको हो।

विज्ञापन (Advertisement)Advertisement

पछि फ्रान्समा समाजवादी र श्रमिक वर्गबीचको दूरी आन्दोलनमा परिणत भयो। फ्रान्सेली क्रान्तिपछि यही ‘कमरेड’ शब्दले राजनीतिक रंग पायो र समाजवादी तथा मजदुरहरूबीच सम्बोधन र एकताको प्रतीक बन्यो।

‘कमरेड’ शब्दको मूल रुसी भाषा होइन। तर विश्वभर कम्युनिस्ट विचार फैलिनुमा रुसी क्रान्तिको ठूलो भूमिका रह्यो। सोभियत रुसमा क्रान्तिकारीहरू एक–अर्कालाई ‘तबारिस’ भनेर सम्बोधन गर्थे।

‘कम्युन’ अंग्रेजी शब्द हो, जसको अर्थ साझा वा सहकारी हुन्छ। श्रमिक मजदुरहरूले साझा खेती, साझा उत्पादन, समान वितरण र सामूहिक स्वामित्वको अवधारणा अघि सारे। यही साझा स्वामित्व भएको समुदाय नै पछि गएर ‘कम्युनिज्म’ बन्यो।

कम्युनिज्मले व्यक्तिगत सम्पत्तिको स्वामित्व अस्वीकार गर्‍यो। सबै कुरा राज्यको स्वामित्वमा, उत्पादन र वितरण समान— कोही धनी, कोही गरिब नहुने सपना देखाइयो। यही नाराले विश्वभरका श्रमिक मजदुरहरू आकर्षित भए।
“दाल–भात–तरकारी, जिउ–ज्यान सरकारी” भन्ने नारा लोकप्रिय भयो। शासन सत्ता बन्दुकको नालबाट मात्रै श्रमिकको हातमा आउँछ भन्ने मान्यता फैलाइयो। त्यसै क्रममा ऊर्जा भर्न ‘लाल सलाम कमरेड’ भन्ने शब्द झनै व्यापक प्रयोगमा आयो। यही कम्युनिज्म आजको ‘कम्युनिस्ट’ विचारधारामा रूपान्तरित भयो।

नेपालका कृषि वैज्ञानिक भनेर चिनिने मदन राईले एक अन्तर्वार्तामा तान्जानिया (कम्युनिस्ट शासन) को अनुभव सुनाउँदै भनेका छन्,- धनी–गरिबको खाडल त देखिएन, सरकारले सबैलाई दुई–तीन कोठाको घर बाँड्यो। तर घरको स्याहार–सम्भार कसले गर्ने भन्ने प्रश्न अनुत्तरित रह्यो। मान्छे स्वभावैले लोभी हुने हुँदा कार्यान्वयन कमजोर भयो।

काम गरेर आएका श्रमिकहरू खाद्यान्न लिन जाँदा, वितरण गर्ने कर्मचारीहरू भने स्विटर बुनेर बसिरहेका। “आज होइन, भोलि आउ” भन्ने जवाफ पाइन्थ्यो। श्रम गर्‍यो, तर खान पाइएन— यो पनि भ्रष्टाचारकै अर्को रूप रहेछ।

सबै श्रमिकको श्रम क्षमता समान हुँदैन— कसैले एक फोक्टा खन्छ, कसैले पाँच, कसैले दश। तर वितरण समान भएपछि नारा बन्यो- “सकेजति गर, चाहिएको जति लेउ।” त्यसपछि किन बढी मेहनत गर्ने? दश फोक्टा खन्नेले पनि एक फोक्टा खन्न थाले। केही वर्षमै देश आर्थिक रूपमा टाट पल्टियो। यस्तै कारणले धेरै कम्युनिस्ट राष्ट्रहरू धराशायी भए।

सोभियत रुसमा पनि राष्ट्रपति मिखाइल गोर्बाचोभले पेरोस्त्रोइका र ग्लास्नोस्त लागू गरेपछि केही वर्षमै सोभियत संघ विघटन भई १६–१८ टुक्रामा विभाजित भएको इतिहास हामीसँग छ।

विश्वभर “श्रमिक मजदुर एक हौं” भन्ने सन्देश दिन मुठ्ठी बाँधेर हात उठाउँदै “अभिवादन कमरेड” भनिन्थ्यो। हात मिलाउँदा एक किसिमको ऊर्जा, तरंग महसुस हुन्थ्यो।

नेपालमा ‘जय नेपाल दाजु’ भन्ने सम्बोधनकै बीच, पुष्पलालको नेतृत्वमा वि.सं. २००६ वैशाख १० गते नेकपा स्थापना भयो र ‘लाल सलाम’ भित्रियो। कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ उपस्थित थिए।

तर आज विश्वभर एउटै हसिया–हथौडाको झण्डा बोकेका कम्युनिस्टहरू एक हुन सकेनन्। त्यसैले मुठ्ठी बाँधेर गरिने ‘अभिवादन कमरेड’ ले “हामी एक हौं” भन्ने सन्देश किन प्रमाणित गर्न सकेन?

नेपालमै हेर्दा पनि प्रश्न उस्तै छ। पुष्पलालले स्थापना गरेको नेकपा पटक–पटक फुट्दै गयो। २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पनि चरम विवादले फुट्यो। सर्वोच्च अदालतको फागुन २३ को फैसलाले फेरि एमाले र माओवादी अलग भए। अन्य कम्युनिस्ट दल बाहिरै रहे।

यसले ठूलो प्रश्न खडा गरेको छ- मुठ्ठी बाँधेर ‘अभिवादन कमरेड’ भनिरहँदा हामी श्रमिक मजदुर किन एक हुन सकेनौं?

आज सोच्ने समय आएको छ- कम्युनिस्ट विचारमा आस्था राख्ने कार्यकर्ता र मतदाताले। नेताहरू सत्ताको खेलमै अल्झिएका छन्। नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी, महँगी र विकासको मोडेलमा ध्यान छैन। त्यसैले जनता भन्छन् – “कम्युनिस्ट नेताहरूले पुरा नहुने झुटा आश्वासन दिए। हामीले विश्वास गर्‍यौं, यही अवस्था आयो।”

हिजो दुईतिहाइको सरकार हुँदा पनि बन्द मुठ्ठी कसिलो भएन। क्रान्तिकारी जोश हरायो। सर्वहारा विचार ओझेलमा पर्यो। श्रमिकको पीडा कसले सुन्ने?

समानताको कुरा गर्नेहरूले व्यवहारमा श्रम विभाजन मात्रै गरे। तल्लो तहका मजदुरलाई न्यूनतम पारिश्रमिकभन्दा तल राखेर पनि गर्वका साथ भन्छन्- “हामी कम्युनिस्ट हौं।”

समान भनेपछि सबै नेपालीले एकै किसिमले खान पाएका छन् त? उत्तर खोज्दै गर्दा मनमा कालो बादल मडारिनु स्वाभाविक हो।

नेताले भुडीदेखि पानी ट्यांकीसम्म भर्छन्, जनता खाली पेट ग्यास्टिकको रोग बोकेर बस्छन्य-ही हो हाम्रो समानता!

२०७४ को निर्वाचनमा एमाले–माओवादी तालमेलबाट बनेको नेकपाले १७४ सिट जित्यो। छ प्रदेशमा सरकार बन्यो। तर ४१ महिना नपुग्दै केपी ओली र पुष्पकमल दाहालले देखाएको सपना तुहाइदिए।

संसद विघटन, सरकार पतन र सत्ता खेलपछि धेरै कम्युनिस्ट कार्यकर्ताहरू मोहभंगमा पुगे। हामी बुझ्न थालेका छौं- हसिया–हथौडाको झण्डामुनि बसेर पनि हामी एक हुने रहेनछौं।

अन्त्यमा भन्नैपर्छ : कम्युनिस्ट पार्टीको सदस्य भएर काम गर्दा पनि ‘अभिवादन कमरेड’ को शाब्दिक र व्यावहारिक अर्थ नबुझ्दा हामीले धेरै दुःख पायौं।

सगरमाथा चढ्नु भन्दा गाह्रो त्यहाँ टिकिरहनु हो— यो कुरा हामीले बिर्सियौं। नेताहरूका झुटा आश्वासन मुटुमा राखेर आज पनि मुठ्ठी बाँधेर भन्छौं- “अभिवादन कमरेड।”

लोकतान्त्रिक व्यवस्था नै आजको यथार्थ र उत्तम विकल्प हो। कम्युनिस्ट विचार नेपालमा मौलाएको छ, तर अत्यधिक विभाजनले त्यसलाई कमजोर बनाएको छ— यही यथार्थ स्वीकार्ने साहस अब आवश्यक छ।

✍️ नारायणबहादुर बस्नेत
मेचिनगर–८, झापा

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)