झापा । अर्जुनधारा नगरपालिका–८ स्थित बौद्ध गुम्बा नजिक मोटरसाइकल चालकको मृत्यु भएको छ भने बुद्धशान्ति गाउँपालिका–५ गढीगाउँमा ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार साँझ ६:५० बजे अर्जुनधारा–८ का ३२ वर्षीय साजन गुरुङले चलाएको प्रदेश १–०१–०१६ प ८८६४ नम्बरको मोटरसाइकल प्रणामी मन्दिरबाट शनिश्चरेतर्फ जाँदै गर्दा स्वास्थ्यमा समस्या आएपछि रोकेका थिए। सोही क्रममा उनी आफैं लडेर बेहोस भएका थिए। तत्काल उपचारका लागि शनिश्चरे अस्पताल पुर्‍याइएका उनलाई थप उपचारार्थ बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले साँझ ७:२५ बजे मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार गुरुङलाई प्रेसरसम्बन्धी स्वास्थ्य समस्या रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। शनिबार कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यसैबीच, शनिबार दिउँसो ३ बजे बुद्धशान्ति–५ गढीगाउँस्थित भित्री सडकखण्डमा ठुटेबरबाट मंगलबारेतर्फ जाँदै गरेको ना ६ ख ७९५४ नम्बरको गोलिया बोकेको ट्रक अनियन्त्रित भई सडकको बाँया साइडमा पल्टिँदा चार जना घाइते भएका छन्।
दुर्घटनामा ट्रक चालक अर्जुनधारा–१० का ४० वर्षीय अनु कुमार चौधरीको छाती र टाउकोमा चोट लागेको छ। अर्जुनधारा–३ का २८ वर्षीय मुकेश मगरको दाहिने हात र खुट्टामा चोट लागेको छ। सोही स्थानका ३० वर्षीय अमिर तामाङ टाउको, देब्रे खुट्टा र नाकमा चोट लागी गम्भीर अवस्थामा छन् भने २२ वर्षीय राकेश तामाङको देब्रे खुट्टा र चिउँडोमा चोट लागेको छ।
घाइते सबैको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको छ भने प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार