अर्जुनधारा, झापा । अर्जुनधारा नगरपालिकामा माघ १८ देखि २१ गतेसम्म सम्पन्न १६औँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शनिश्चरे माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो।
नगरभित्रका २६ वटा सामुदायिक तथा निजी माध्यमिक विद्यालय सहभागी भएका प्रतियोगितामा शनिश्चरे माविले २१ स्वर्ण, १५ रजत र ९ कास्य पदकसहित कुल ४५ पदक जित्दै शीर्ष स्थान कायम गर्‍यो। यसअघि दुई संस्करणमा पनि विजेता रहेको शनिश्चरेले यसपटक पनि उपाधि दोहोर्‍याएको हो।
प्रतियोगितामा सिंहदेवी माध्यमिक विद्यालयले ९ स्वर्ण, ८ रजत र १० कास्यसहित २७ पदक जितेर दोस्रो स्थान हासिल गर्‍यो भने जनता माध्यमिक विद्यालयले ७ स्वर्ण, ७ रजत र ४ कास्यसहित १८ पदक जितेर तेस्रो स्थान हात पारेको छ। लक्ष्मी माध्यमिक विद्यालय ६ स्वर्णसहित ९ पदक जितेर चौथो, रुपरत्न मेमोरियल ५ स्वर्णसहित २० पदकसहित पाँचौं स्थानमा रह्यो। सिर्जना सिसु सदन, वी.पी.ए.एस., देव भूमि इङ्लिस स्कुल र भानु माध्यमिक विद्यालय क्रमशः छैटौंदेखि नवौं स्थानमा रहे।
अर्जुनधारा–१ स्थित सिंहदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उस्सु र कराँते गरी छ वटा खेल विधामा प्रतिस्पर्धा गरियो। नगरका २६ माध्यमिक विद्यालयका करिब चार सय विद्यार्थी खेलाडी सहभागी भएका थिए। कुल ६६ स्वर्ण, ६६ रजत र १ सय २ कास्य पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
समापन समारोहमा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, प्रतियोगिता संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेत, सिंहदेवी माविका प्रधानाध्यापक तथा प्रतियोगिता सञ्चालन समितिका सचिव कमलप्रसाद बास्कोटा विजेता खेलाडी र विद्यालयलाई पुरस्कार वितरण गरे।
नगर प्रमुख गोम्देनले समापन समारोहमा भन्नुभयो, “खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको लागि महत्वपूर्ण माध्यम हो। नगरपालिकाले नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड नियमित रूपमा सञ्चालन गर्दै आएको छ। खेलकुदलाई केवल अतिरिक्त क्रियाकलापको रूपमा नभई अनिवार्य शिक्षाको अङ्गका रूपमा लागू गर्नुपर्ने आवश्यकता छ।”
समन्वयक सुरेन्द्र धिमालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी खेलाडीलाई आगामी जिल्ला स्तरीय प्रतियोगिताका लागि अझ राम्रो तयारी गर्न प्रेरित गर्दै, स्थानीय सरकारले बजेट पुस्तिकामा समावेश गरेमा प्रतियोगिता व्यवस्थापन र सञ्चालन अझ प्रभावकारी हुने बताए। उनले १७औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वर्ष जनता माध्यमिक विद्यालयमा सञ्चालन हुने जानकारी पनि दिएका छन्।
समापन समारोहमा शिक्षण र खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका शिक्षक तथा उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार