सिड्नी (अष्ट्रेलिया), माघ — अष्ट्रेलियाको अर्बन सिड्नीमा श्री योगी नरहरिनाथ हिन्दु विद्यापीठको औपचारिक शुभारम्भ गरिएको छ। माघ महिनाको शुक्ल पक्ष वसन्त पञ्चमी (सरस्वती पूजा) का अवसरमा जनवरी २३, २०२६ शुक्रबारदेखि संस्कृत भाषाको अध्ययन–अध्यापन सुरु गरिएको हो।
सनातन धर्म, संस्कृति र वैदिक विचारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित साहित्य, संस्कृति, संस्कार र सदाचारसम्बन्धी विषयलाई समेटेर विद्यापीठ सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ।
विद्यापीठका अध्यक्ष नारायण शास्त्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक श्री १००८ श्री जगन्नाचार्य स्वामी महाराजजी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा ग्राण्ड प्यालेसका प्रोप्राइटर तथा विद्यापीठका प्रमुख संरक्षक रञ्जीत शाह, साउथइष्ट नेपाली कम्युनिटीका अध्यक्ष चतुर्भुज खरेल, महासचिव प्रकाश पौडेल, सदस्य अनुप निरौला, अर्बन पार्क नेपाली समाजकी अध्यक्ष देवी पाण्डे तथा अन्तर्राष्ट्रिय गायिका जेनिशा गौतमलगायतको विशिष्ट उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि स्वामी जगन्नाचार्य महाराजजीले दीप प्रज्वलन र ब्यानर वाचनमार्फत गर्नुभयो। कार्यक्रममा गुरुजनबाट स्वस्तिवाचन, अन्तर्राष्ट्रिय गायिका जेनिशा गौतम तथा बाल कलाकार अक्षिता तिमल्सिना र आयुस्था तिमल्सिनाबाट सरस्वती वन्दना प्रस्तुत गरिएको थियो। साथै बालबालिकालाई अक्षर लेखन गराएर संस्कृत अध्ययनको शुभारम्भ गराइएको थियो।
शुभकामना मन्तव्यका क्रममा विशिष्ट अतिथि चतुर्भुज खरेलले विद्यापीठ क्रमशः अन्तर्राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास हुने विश्वास व्यक्त गर्दै सबैको सहकार्य आवश्यक रहेको बताए। प्रमुख संरक्षक रञ्जीत शाहले विद्यापीठ शुभारम्भमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तत्कालका लागि पठनपाठनको स्थानसमेत उपलब्ध गराइने जानकारी दिए।
प्रमुख अतिथि स्वामी जगन्नाचार्य महाराजजीले संस्कृत भाषालाई १५३ भन्दा बढी भाषाको जननीका रूपमा उल्लेख गर्दै विश्वव्यापी रूपमा यसको प्रचार आवश्यक रहेको बताए। वैदिक विज्ञानको महत्व आधुनिक विज्ञानभन्दा बढ्दो रहेको उल्लेख गर्दै संस्कृत भाषाको उद्गमस्थल हिमवत्खण्ड नेपाल भएकाले यसको संरक्षणमा नेपाली समुदायले विशेष जिम्मेवारी लिनुपर्नेमा जोड दिए।
कार्यक्रममा विद्यापीठलाई योगदान पुर्याउने चतुर्भुज खरेल, प्रकाश पौडेल र अनुप निरौलालाई सम्मान गरिएको थियो। अध्यक्ष नारायण शास्त्रीले स्वागत मन्तव्य राख्दै विद्यापीठको औचित्यमाथि प्रकाश पारेका थिए। उपाध्यक्ष रामहरी थापा, सदस्य सहनशिला श्रेष्ठ र कुश शर्मा पौडेलले अतिथि सत्कार गरेका थिए।
कार्यक्रमको सञ्चालन चेतना नेपाल तथा राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष एवं विद्यापीठका संरक्षक सदस्य इन्द्रप्रसाद ओलीले गरेका थिए। शुभारम्भ कार्यक्रममा उल्लेख्य संख्यामा समुदायको सहभागिता रहेको थियो।


















