झापा। देशभर हाल मनसुनी वायु र स्थानीय वायुको प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार दिनभर सबै प्रदेशमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पनि हुनसक्ने अनुमान गरिएको छ।

आज राति पनि सबै प्रदेशमा सामान्यतया बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना छ।
मौसमविद्हरूले वर्षा बढ्ने सम्भावनासँगै पहिरो, बाढी तथा यातायात अवरुद्ध हुने जोखिम रहेको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।