झापा । भारत आसामको रायनोल्याण्ड क्रिकेट क्लब मेची बहुमुखी क्याम्पस, भद्रपुर–८ को क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ अन्तर्गत आज भएको पहिलो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै आसामले लगातार तेस्रो जित निकाल्यो । टस जितेर पहिलो ब्याटिङ गरेको भद्रपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । लक्ष्य पछ्याएको आसामले ५ विकेटको क्षतिमा एक बल बाँकी रहँदै १३८ रन पूरा गर्यो ।
अन्तिम ओभरमा आसामलाई जितका लागि एक रन आवश्यक थियो । भद्रपुरका बलर दीपक बोहोराको अन्तिम बल वाइड भएपछि आसामको जित सुनिश्चित भयो ।
भद्रपुरका कप्तान अंकित सुवेदीले ४६ बलमा अर्धशतकसहित ५० रन जोडे । आसामका कप्तान निविर डेकाले आक्रामक ब्याटिङ गर्दै ४६ बलमा ७२ रन बनाए । बलिङतर्फ आसामका प्राञ्जल भारालीले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । भद्रपुरका भुवन काबर्कीले ११ रन खर्चेर २ विकेट लिए ।
७२ रन बनाएका आसामका कप्तान निविर डेेका खेलको म्यान अफ द म्याच घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए, जुन प्रभा ढकालले प्रदान गरिन् ।
यसैबीच, समूह ‘ए’ कै अर्को खेलमा भारतको नयाँ दिल्लीलाई नेपाल काठमाडौँले ७ विकेटले पराजित गरेको छ । यस जितसँगै काठमाडौँको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ भने दिल्ली दबाबमा परेको छ ।
पहिलो ब्याटिङ गरेको दिल्ली १८.१ ओभरमा अलआउट हुँदै ९६ रनमै सीमित भयो । लक्ष्य काठमाडौँले ३ विकेटको क्षतिमा ११.४ ओभरमै पूरा गर्यो । काठमाडौँका कप्तान इशान पाण्डेले २४ बलमा ४० रनको योगदान दिए । बलिङतर्फ रुपेश श्रीवास्तव र कमल साहीले समान ३–३ विकेट लिए ।
दिल्लीका मयंक मल्लिकले ३७ रन बनाए भने सबाकरिमले २ विकेट लिए । ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका काठमाडौँका कप्तान पाण्डे म्यान अफ द म्याच घोषित भए । उनले पनि ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।


















